काठमाडौं । अमेरिकाका अग्रणी संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अन्तिम चरणको परीक्षण राम्ररी अघि बढेमा जोखिम समुहका व्यक्तीहरुका लागि डिसेम्बरको अन्त्यसम्म नयाँ कोरोना भाइरसको भ्याक्सीन उपलब्ध हुनसक्ने विश्वास व्यक्त गरेका छन् ।
‘यसअघि अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले मिलेर तयार गरेको कोभिड १९ भ्याक्सिन परीक्षणका क्रममा ९० प्रतिशत प्रभावकारी देखिएको रिपोर्ट सोमबार सार्वजनिक भएको थियो । फाइजरले अब अमेरिकी खाद्य तथा औषधी प्रशासन (एफडिए) बाट स्विकृति लिने प्रक्रिया चाडैं अघि बढाइने जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महामारी अन्त्यको प्रयासलाई तिव्रता दिन फास्ट ट्रयाकबाट भ्याक्सीनलाई स्विकृति दिइने यसअघि नै बताएका थिए, अमेरिकामा कोरोना संक्रमणका कारण २ लाख ४० हजारभन्दा धेरै मानिसको ज्यान गइसकेको छ । त्यस्तै १ करोडभन्दा धेरै संक्रमित भइसकेका छन् ।
सन् १९८४ देखि एलर्जी र संक्रामक रोग सम्बन्धी राष्ट्रिय इन्स्टिच्युटका निर्देशक रहिआएका फाउची ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका सदस्य समेत हुन् । भ्याक्सिनले स्विकृती पाएसँगै आफु यसको डोज लिने घोषणा उनले गरेका छन् । फाउचीका अनुसार परिवारका सदस्यहरुलाई पनि स्विकृति पाइसकेपछि भ्याक्सिन लगाउन उनले सल्लाह दिएका छन् । ‘म फाइजरलाई विश्वास गर्छु । म एफडिएलाई विश्वास गर्छु । त्यहाँ मेरा दशकौंदेखिका वैज्ञानिक साथीभाई छन्,’ उनले भनेका छन् ।
कोरोना भाइरसले ग्रस्त अमेरिकामा सचेतना र सतर्कताका लागि फाउचीले गरेका प्रयासहरुको ट्रम्प समर्थकहरुले यदाकदा विरोध पनि गर्ने गरेका छन् । यसअघि फ््लोरिडामा भएको ट्रम्पको चुनावी -यालीमा फाउचीलाई बर्खास्त गर्नुपर्ने माग उठेको थियो । समर्थकहरुको आवाज सुनेपछि आफ्नो भाषणका क्रममा ट्रम्पले यसका लागि केही प्रतिक्षा गर्न आग्रह गरेका थिए । संविधानत ट्रम्पले सोझै फाउचीलाई बर्खास्त गर्न सक्दैनन् किनकी उनी राष्ट्रपतिले नियुक्त गरेका व्यक्ति होइनन् । तर, उनले फाउचीका बर्खास्तीका लागि आफ्नो प्रशासनका अन्य व्यक्तिलाई दवाव दिन सक्छन् ।
निर्वाचनमा जो बाइडेनसँग पराजित भएसँगै ट्रम्पले आफूुसँग फरक मत राख्नेहरुलाई बर्खास्त गर्ने प्रक्रिया पनि अघि बढाइसकेका छन् । ‘फाउची राम्रो मानिस हुन् । यद्यपी, उनी धेरै काममा गलत देखिएका छन्,’ २ नोभेम्बरमा ट्रम्पले समर्थकहरुसामुु भनेका थिए । यता, भर्खरै राष्ट्रपतिका लागि निर्वाचित भएका जो बाइडेन भने कोरोना भाइरस नियन्त्रणका लागि फाउचीको सल्लाह मानेर अघि बढ्नुपर्ने बताउँछन् । ‘फाउचीजस्ता विज्ञहरुलाई सुन्ने राष्ट्रपति देशलाई चाहिएको छ,’ यसअघि बाइडेनले ट्वीट गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया