बामदेव विरुद्ध सर्वोच्चमा परेको रिटको सुनुवाई जारी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्ध सर्वाेच्चमा परेको रिटको सुनुवाई जारी रहेको छ ।

करिब एक महिनाअघि हेर्दाहेर्दैमा राखिएको सो मुद्दाको पेसी आज तोकिएको थियो ।

बुधवार (आज) प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ हुन लागेको हो ।

गौतमलाई राष्ट्रिय सभामा मनोनित गरिएसँगै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गत असोज १२ गते सर्वोच्चमा रिट दायर गर्दै उनलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय खारेज गर्न माग गरेका थिए ।

त्यस्तै सर्वोच्चले गौतमको राष्ट्रियसभा सदस्य पद यथास्थितिमा राख्न र कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको थियो ।

यसअघिनै सुनुवाई हुनपर्नेमा दशैँपछि हुने सुनुवाई गर्ने भन्दै गौतम विरुद्धको मुद्धा हेर्दाहेर्दैमा राखिएकोमा आज सुनुवाइ हुन लागेको हो ।

गत २०७४ सालमा सम्पन्न निर्वाचनमा बदिर्याबाट पराजित गौतमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनित गरेकी थिइन् । राष्ट्रिय सभाबाट गएका सांसद मन्त्री हुन पाउने भएपनि प्रधानमन्त्री हुन पाउने कानूनी प्रावधान रहेको छैन् । तर गौतमले भने राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री हुन पाउनेगरी कानून संशोधन गर्न समेत माग राख्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?