ढाकामा नेपाली राष्ट्रिय फुटबल टोलीको अभ्यास जारी

काठमाडौं । आगामी शुक्रवार हुने मैत्रिपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशको ढाकामा तयारीलाई तीव्रता दिएको छ ।

दुई मैत्रिपूर्ण खेलका लागि गत बिहीवार बंगलादेशको ढाका पुगेको नेपालीले टोलीले केही दिन यता बंगलादेशमा रहेर फुटबलमा फर्किन लागेको हो ।

करिब नौ महिना पछि फर्किन लागेको फुटबल खेल अन्तर्गत नेपालले शुक्रवार पहिलो खेल खेल्न लागेको हो । त्यसका लागि खेलाडी निकै उत्साहित देखिएका छन् ।

काठमाडौंको एक साता अभ्यास पछि थप एक साता बंगलादेशमा अभ्यास गर्ने योजना सहित नेपालबाट उडेको टोलीले दोस्रो मैत्रिपूर्ण खेल भने तिहारको भोलिपल्ट अर्थात् मंसिर २ गते खेल्ने तालिका रहेको छ ।

खेलमा फर्किंदा उत्साहित भएका खेलाडीले मैत्रिपूर्ण खेलमा सुखद नतिजा ल्याउने लक्ष्यका साथ अभ्यासमा मिहेनत गरिरहेका हुन् ।

प्रशिक्षक बाल गोपाल महर्जनले पनि खेलाडीमा फिटनेस सुधार हुँदै गएको र बंगलादेशसँगको खेलमा राम्रो नतिजा ल्याउनमा आशावादी रहेको यस अघि बताइसकेका छन् ।

बंगलादेशको ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आइतवार मैदानमा दुई घण्टा प्रशिक्षण गरेको थियो । नेपाली फुटबल टोली कोभिड—१९ संक्रमणको जोखिमका कारण बिहीबारदेखि ढाकामा होटेल क्वारेन्टाइनमा बसेको थियो ।

क्वारन्टाइनमा रहेको टोलीको पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै प्रशिक्षणका लागि मैदानका फर्किएको हो ।

बंगलादेशसँग कात्तिक २८ र मंसिर २ गते बंगबन्धु रंगशालामा हुने मैत्रीपूर्ण खेल नेपाली समयअनुसार दिउँसो ४ः४५ बजे हुने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?