भरतपुर । चितवनको माडी नगरपालिकास्थित अयोध्यापुरीमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको सङ्गीतमय पाठपारायण गरिएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समिति माडी र श्रीरामजानकी अनुसन्धान एवं अध्ययन मण्डल (श्री राम संस्था) अमेरिकाको संयुक्त आयोजनामा मङ्गलवार पाठपारायण गरिएको हो ।
पाठपारायणको सफलताको कामना गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाएका थिए । ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायणले अयोध्यापुरीमा निर्माण हुन लागेको रामधामको अभियानमा समेत सहयोग पुग्ने विश्वास लिएको प्रधानमन्त्री ओलीले बताएका छन् । “यस साङ्गीतिक पारायणले माडी अयोध्यापुरीमा निर्माण हुन लागेको रामधामको अभियानमा समेत सहयोग पुग्नेछ भन्ने मलाई विश्वास लागेको छ”, उनले पठाएको शुभकामना सन्देशमा भनिएको छ, “भौगोलिक तथा पुरातात्विक अनुसन्धान गरेर नै माडीको अयोध्यापुरीमा रामधाम निर्माणको कार्य अगाडि बढाइएको हो ।” रामधाम निर्माणपछि माडीको पर्यटन प्रवर्द्धन, प्राचीन सभ्यताको सम्वर्द्धनमा सहयोग पुग्ने उनको विश्वास छ ।
सोह्रौँ शताब्दीमा गोस्वामी तुलसीदासद्वारा अवधि भाषामा लिखित हिन्दूहरुको ग्रन्थ श्री रामचरितमानस पुस्तकलाई तुल्सीराम शर्माले नेपालीमा सम शैली र सम छन्दमा जस्ताको तस्तै पद्य अनुवाद गरेका छन्। सोही ग्रन्थको सुन्दर काण्डको साङ्गीतिक पाठपारायण शुरु भएको हो ।
एक दिवसीय साङ्गीतिक कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले धार्मिक सहिष्णुताको विकास र कला संस्कृतिको संरक्षण गर्नमा ‘नेपाली रामचरितमानस’ सुन्दर काण्डको साङ्गीतिक पाठपारायणले महत्वपूर्ण भूमिका खेल्ने बताए । साङ्गीतिक पाठपारायणले प्रधानमन्त्रीको सक्रियतामा अगाडि बढाइएको माडीमा रामधाम बन्ने योजनालाई पनि अगाडि बढाउन पहल गर्ने बताउँदै उनले माडीमा रामधामको निर्माणले समग्र माडी विकासमा सहयोग पुग्ने भएकोले सबैलाई सहयोग गर्नसमेत आग्रह गरे ।
हरिहर सन्न्यास आश्रम देवघाटले ‘नेपाली रामचरितमानस’ नाम दिई उक्त पुस्तक प्रकाशनमा ल्याएपछि नेपाल र भारतसँगै विश्वका धेरै देशमा यसको पारायण थालिएको छ । अयोध्या अध्ययन अनुसन्धान तथा व्यवस्थापन समितिका संयोजक नारदमणि पौडेलको अध्यक्षतामा कार्यक्रम गरिएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया