काठमाडौं । माथिल्लो त्रिशूली–३ बी जलविद्युत् आयोजनामा बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्यलाई प्राथमिकता दिन माग गर्दै आफन्तहरूले माइतीघरमा प्रदर्शन गरेका छन् ।
सोमबार प्रदर्शनमा सहभागी आफन्तहरूले सरकारले त्रिशूली–३ बी मा उद्धार तथा खोजी कार्यलाई पर्याप्त प्राथमिकता नदिएको आरोप लगाएका छन् । उनीहरूले आफूहरूलाई समेत आयोजनास्थलमा गएर आफन्तको खोजी गर्न नदिएको गुनासो गरेका छन् ।
रसुवामा आएको विनाशकारी बाढीपछि त्रिशूली–३ बी जलविद्युत् आयोजनामा कार्यरत १७८ जना कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् । बाढीले आयोजनाको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ ।
सरकारले आयोजनाको संरचना नै क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी कार्य कठिन भएको बताउँदै आएको छ । तर पीडित आफन्तहरूले उद्धारमा कठिनाइ भए पनि सरकार पन्छिन नमिल्ने बताएका छन् ।
बाढी प्रभावित सुमना श्रेष्ठ अमात्यले त्रिशूली–३ बी मा कार्यरत कर्मचारी तथा कामदारको खोजीमा सरकारले पर्याप्त तदारुकता नदेखाएको बताइन् । उनका श्रीमान् तथा वरिष्ठ भूगर्भविद् सुमेश अमात्यसमेत बाढीपछि सम्पर्कविहीन छन् ।
उनले सरकारले हेलिकप्टरलगायत आवश्यक आधुनिक उपकरण प्रयोग गरेर उद्धार गर्नुपर्नेमा सामान्य उपकरण लिएर उद्धारमा गएको आरोप लगाइन् । गृह मन्त्रालयमा पटकपटक ध्यानाकर्षण गराउँदा पनि पर्याप्त चासो नदिइएको उनको गुनासो छ ।
पीडित आफन्तहरूले सम्पर्कविहीन भएकाहरू जीवित भए जीवितै उद्धार गर्न र मृत्यु भइसकेको भए शव भए पनि आफन्तलाई उपलब्ध गराउन माग गरेका छन् । उनीहरूले हेलिकप्टर तथा अन्य उपयुक्त उपकरण प्रयोग गरी तत्काल खोजी तथा उद्धार कार्य तीव्र बनाउन सरकारसँग आग्रह गरेका छन् ।
बाढी गएको लामो समयसम्म पनि त्रिशूली–३ बी मा खोजी कार्य प्रभावकारी रूपमा अघि बढ्न नसक्नु सरकारको लाचारी भएको उनीहरूको आरोप छ । अन्तर्राष्ट्रिय सहयोग लिएर भए पनि समयमै उद्धार तथा खोजी गर्न सरकारले पहल गर्नुपर्ने उनीहरूको माग छ ।
बाढी गएको ११औँ दिनसम्म पनि विभिन्न स्थानबाट जीवितै उद्धार भइरहेकाले त्रिशूली–३ बी मा पनि तत्काल खोजी गरे अझै मानिसहरूलाई सकुशल उद्धार गर्न सकिने आफन्तहरूको आशा छ ।
प्रदर्शनकारीहरूले उद्धार कार्यलाई कुनै एक क्षेत्रमा मात्र केन्द्रित नगरी त्रिशूली–३ बी लाई पनि उच्च प्राथमिकतामा राख्न माग गरेका छन् । उनीहरूले ‘उद्धार गर्न कठिन छ, झन् उद्धार गर्न नहुने कुरा हुँदैन’, ‘१३ दिन भइसक्यो, उद्धारको सूचना खै ?’ र ‘त्रिशूली–३ बी लाई प्राथमिकता दिनुस्’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया