भोजपुर-टक्सार विमानस्थल सडक कालोपत्रे सम्पन्न

भोजपुर । भोजपुर सदरमुकामदेखि टक्सार विमानस्थलसम्मको सडक कालोपत्रे सम्पन्न भएको छ । जिल्लामा नै पहिलो आस्फाल्ट (मिश्रित) प्रविधिबाट पूर्वाधार विकास कार्यालय भोजपुरको रु १६ करोड ९२ लाख लागतमा कालोपत्रे सम्पन्न भएको हो ।

सडक गुणस्तर कायम राखी निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताए । रेड्डीले भने, ‘‘प्रदेश नं १ सरकारको महत्वपूर्ण योजनाका रुपमा जिल्लामा पहिलो पटक यस प्रविधिबाट कालोपत्रे गरिएकाले यसलाई नमूना सडक बनाउने गरी काम सम्पन्न भएको छ ।’’

काम गर्ने क्रममा सबै पक्षको सहयोग पाइएकाले कामलाई गुणस्तरीय ढङ्गले समयमा सम्पन्न गर्न सफल भएको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनीका प्रमुख श्याम श्रेष्ठले भने, ‘‘सरोकार पक्ष र मौसमले साथ दिएकाले सम्झौता मितिभित्र काम गर्न सफल भएका छौँ ।’’
खासमा यसको काम तोकिएको समयभन्दा पनि अगाडि नै सम्पन्न गरेर जिम्मा लगाउने लक्ष्यका साथ आफूले काम गरे पनि लकडाउन तथा वर्षात्का कारण समयमा गर्न नसकिएको उहाँले स्वीकारे ।

रायमाझी–जगदम्बा–मार्सेली जेभीले निर्माण गरेको सो सडकको लम्बाइ पाँच किलोमिटर छ । कालोपत्रेको मोटाइ चार सेन्टिमिटर रहने जनाइएको छ ।

सडक कालोपत्रे भएसँंगै स्थानीयवासीमा उत्साह थापिएको छ । स्थानीयवासी मतिता श्रेष्ठले भनिन्, ‘‘वर्षौँदेखि सडकका कारण धेरै समस्या थियो, अब भने कालोपत्रे सम्पन्न भएको छ, यसले हामी सबैलाई धेरै राहत मिलेको छ ।’’ रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?