स्थानीयवासीको माग पूरा गर्दै तनहुँ जलविद्युत्, अस्थायी कोभिड अस्पताल सञ्चालन तयारी

दमौली । स्थानीयवासीले राखेका माग पूरा गर्न तनहुँ जलविद्युत आयोजना अग्रसर भएको छ । आयोजना प्रभावित क्षेत्र तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारका स्थानीयवासीले राखेका विभिन्न माग मध्ये प्राथमिकताका आधारमा माग सम्बोधन गर्न लागिएको हो ।

आयोजना प्रमुख अच्युत घिमिरेले पूरा गर्न सकिने मागलाई सम्बोधन गरिएको जानकारी दिए । उनका अनुसार सुरुङ निर्माणका क्रममा क्षति पुगेका खानेपानी पाइप र सडकमा जडान गरिएका सडकबत्ती मर्मत गरिएको छ ।

कतिपय मागहरु आयोजना एक्लैले मात्रै पूरा गर्न नसकिने हुँदा सबै पक्षसँग समन्वय गरिने घिमिरेले जानकारी दिए। स्थानीयवासी केशर थापाले खानेपानीको पाइप मर्मत गरिएपछि खानेपानीको समस्या केही हदसम्म समाधान भएको बताए ।

एक सय चालीस मेगावाट क्षमताको आयोजनाअन्तर्गत सिनो हाइड्रोले दोस्रो प्याकेज अन्तर्गतको विद्युतगृह निर्माणको काम गरिरहेको छ । विद्यृतगृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम केही समय अगाडी मात्रै सम्पन्न भएको थियो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।

अस्थायी कोभिड अस्पताल सञ्चालन तयारी

तनहुँका स्थानीय तहले अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी गरेका छन् । सङ्घीय सरकारले अस्पताल सञ्चालनका लागि आठ वटा स्थानीय तहलाई १०÷१० लाख विनियोजन गरेपछि स्थानीय तह अस्पताल सञ्चालनको तयारीमा जुटेका हुन् ।

व्यास नगरपालिकाले वडा नं १० स्थित दुम्सी आधारभूत स्वास्थ्य केन्द्रमा अस्थायी कोभिड अस्पताल सञ्चालन गर्ने भएको छ । नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रलाई नै अस्थायी अस्पतालको रुपमा सञ्चालनका लागि तयारी थालेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।

नगरपालिकाले नगरस्तरीय अस्पताल निर्माणका लागि पूर्वाधारको अध्ययन गर्न उपप्रमुख मीरा जोशीको संयोजकत्वमा अध्ययन समिति समेत गठन गरेको छ ।
शुक्लागण्डकी नगरपालिकाले दुलेगौडास्थित खैरेनीटार स्वास्थ्यचौकीमा कोभिड अस्पताल सञ्चालनको तयारी थालेको छ । आँबुखैरेनी गाउँपालिकाले पनि अस्थायी कोभिड अस्पताल सञ्चालनको प्रकृया शुरु गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले अस्पताल सञ्चालनका लागि मेडिकल अधिकृत, स्टाफ नर्स र कार्यालय सहयोगी भर्ना गर्ने प्रकृया शुरु भएको जानकारी दिए ।

म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले आवश्यक स्वास्थ्यकर्मी नियुक्त गर्नका लागि तयारी भइरहेको जानकारी दिए। घिरिङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन गर्न लागिएको जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?