महिला बालबालिका पुनः स्थापना केन्द्रको भवन उद्घाटन

खोटाङ । महिला बालबालिका पुनः स्थापना केन्द्र खोटाङको भवन निर्माण सम्पन्न भएको छ ।

स्थानीय विकास मन्त्रालयको छ लाख, तत्कालीन जिल्ला विकास समितिको तीन लाख, प्रदेशसभा सदस्य उषाकला राईको संसदीय विकास कोषको पाँच लाख र चन्दा सङ्कलनबाट जम्मा भएको ६२ हजार र अन्य गरी कूल २२ लाखको लागतमा निर्माण भएको सो एकतले पक्कीमा भवनमा तीन कोठा रहेका छन् ।

उक्त भवन निर्माणका लागि कृषिविज्ञ मदन राईले दिक्तेलको रत्नपार्कस्थित किराँतचोकभन्दा माथिको जग्गा निःशुल्क उपलब्ध गराएको केन्द्रकी अध्यक्ष पूर्णमाया तामाङले जानकारी दिइन्।

केन्द्रको प्रथम साधारणसभाको अवसर पारेर आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य हीरा गुरुङले सो नवनिर्मित भवनको मङ्गलवार उद्घाटन गरिन्। सो अवसरमा उनले भवन निर्माणका लागि निःशुल्क जग्गा प्रदान गर्नुहुने जग्गादाता राईलाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिन् ।

साधारणसभाले केन्द्रको एकतले भवनमा तला थप गर्ने र घेराबार गर्ने, हिंसापीडित महिलालाई पुनःस्थापना गर्ने, मनोसामाजिक परामर्श तालिम सञ्चालन गर्ने, पीडित महिलालाई आयआर्जन गर्न सक्ने सीप सिकाउनेलगायतका भावी योजना तय गरेको छ ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य गुरुङ, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाललगायत सहभागी थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?