सांसद श्रेष्ठद्वारा मिर्गौला पीडितलाई सहयोग

दमौली । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले दशैं भत्ता बापतको रकम जिल्लाका मिर्गौला पीडितलाई हस्तान्तरण गरेका छन् । आफ्नो पूर्व प्रतिवद्धताबमोजिम सांसद श्रेष्ठले व्यास नगरपालिकाका विभिन्न वडाका तीन मिर्गौला पीडितलाई आज उक्त रकम हस्तान्तरण गरे ।

व्यास नगरपालिका–१ का अमृतबहादुर खत्री, व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँ र व्यास नगरपालिका–१४ का सन्तोष राना मगरलाई जनही १६ हजारका दरले रकम सहयोग गरिएको सांसद श्रेष्ठका स्वकीय सचिव जगतबहादुर खड्काले जानकारी दिए। व्यास नगरपालिका–१२ का अनुप क्षेत्रीलाई भने रकम हस्तान्तरण गर्न बाँकी छ ।

श्रेष्ठले सांसद भएदेखि अहिलेसम्मको सबै महिनाको पारिश्रामिक तनहुँ जिल्लाका विभिन्न सङ्घसंस्था र समुदायलाई उपलब्ध गराउँदै आए का छन् ।

यसैगरी, व्यास नगरपालिका–५ बरबोटे निवासी मिर्गौला पीडित टेकबहादुर आलेलाई विदेशबाट सहयोग जुटेको छ । दुबई, संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाबाट प्राप्त ७१ हजार पाँच सय ९३ आज पीडितलाई हस्तान्तरण गरिएको छ । नगरपालिकाको ५ नं. वडाध्यक्ष मोहनकुमार श्रेष्ठले पीडितलाई रकम हस्तान्तरण गर्दै विदेशमा रहेर जिल्लावासीलाई परेको मर्कामा सहयोग गर्नु मानवीय कार्य रहेको बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?