२० वर्ष नाघेका सार्वजनिक सवारी साधन पूर्णप्रतिबन्ध, अटेर गरे कवाडीमा लिलाम

काठमाडौं, १ चैत । सरकारले आजबाट २० वर्ष नाघेका सार्वजनिक यातायातका साधनलाई पूर्णरुपमा प्रतिबन्ध लागएको छ । यदि त्यसलाई अटेर गर्दै २० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा लिलाम गरिने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले बताए ।देशभर गुडिरहेका २० वर्ष पुराना सार्वजनिक यातायतका साधनका कारण वायु प्रदूषण र सवारी दुर्घटना दिनप्रतिदिन बढ्न थालेपछि चैत १ गतेदेखि २० वर्ष पुराना सार्वजनिक साधन हटाउने निर्णय गरिएको हो ।हाल देशभर २० वर्ष पुराना सवारी साधन साढे पाँच हजार रहेको विभागको अनुमान छ ।विभागले गत वर्ष फागुनदेखि नै काठमाडौं उपत्यकाबाट २० वर्ष पुराना सवारी साधन हटाउने प्रयास थालेको थियो । तर, पूर्णरुपमा कार्यान्वयनमा आउन सकेको थिएन । त्यसैले नियमावली संशोधन गरेर गत वर्ष कात्तिकमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी २०७४ फागुन मसान्तसम्म देशभर रहेका २० वर्ष पुराना सवारी साधन हटाउने निर्णय गरिएको हो ।विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?