‘प्रधानमन्त्रीज्यू हेक्का रहोस् नेकपाको सचिवालय संवैधानिक परिषद् होइन’ !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आरोप लगाएको छ ।

कांग्रेसले लोकतान्त्रिक राज्य व्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मुल्य हुने र हुनु पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद भएको भन्दै यस्तो हुनु लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत नभएको बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गर्दै त्यस्तो बताएका हुन् । “नेकपा नेतृत्वको सरकारले संवैधानिक परिषदको गरिमालाई निरन्तर अवमूल्यन गर्दै आएको सर्वविदितै छ । लोकतान्त्रिक राज्य ब्यवस्थामा संवैधानिक परिषद्को अलग्गै महत्व, मर्म एवं मुल्य हुन्छ र हुनु पर्दछ भन्ने सरकारले नबुझ्नु दुःखद त छ नै लोकतान्त्रिक पद्धतिका लागि सुखद संकेत होइन ।” विज्ञप्तिमा भनिएको छ ।

साथै संवैधानिक निकायहरूको गठनमा लामो समय ढिलाइ गरिएको र अध्यादेश मार्फत संवैधानिक परिषद्कै औचित्य समाप्त पार्ने असफल षड्यन्त्र पनि यस बीचमा गरिएको कांग्रेसले स्मरण गराएको छ ।

केहि दिन अघि बसेको नेकपाको सचिवालयको बैठकले संवैधानिक नियुक्तीहरुमा सचिवालय बैठकले निर्णय प्रस्ताव अघि सारेको छ । जसका कारण बाँकी रहेको परिषद्को गरिमालाई नै अन्त्य गर्न सरकार उद्धत रहेको कांग्रेसले जनाएको छ ।

“नेकपा सचिवालयको पछिल्लो बैठकले संवैधानिक नियुक्तिहरु गर्ने बिषयमा जुन रूपमा आफुलाई संलग्न गरायो त्यसबाट यसको बचेको गरिमालाई अन्त्य गर्ने दिशामा सरकार उद्दत रहेको पुष्टि भएको छ ।” विज्ञप्तिमा भनिएको छ ।

संवैधानिक परिषद एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानले ब्यवस्था गरेको प्रबन्ध र पद्धति भन्दा बाहिर गएर कार्य नगर्न नेपाली प्रधानमन्त्रीलाई सजग गराउँदै कांग्रेसले सार्वजनिक रुपमा अपिल र आग्रह समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?