चितवन, २५ फागुन – राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर, चितवनले अतिसंकटापन्न अबस्थामा पुगेको स्तनधारी वन्यजन्तु सालकको मकवानपुर र गोरखामा समेत अध्ययन थालेको छ ।मकवानपुरको रानीवन सामुदायिक वनबाट बिहीबारदेखि सालकको अध्ययन थालेको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी दिए । यसअघि फागुन ९ गतेदेखि चितवनमा शुरु भएको अध्ययन बिहीबार मकवानपुरसँगै गोरखामा समेत थालिएको भट्टराईले जानकारी दिए । गोरखामा भने मिरकोट सामुदायिक वनमा सर्वेक्षण थालिएको छ ।राष्ट्रिय प्रकृति संरक्षण कोषले हरियो वन कार्यक्रमको सहयोगमा सालक सर्भेक्षण शुरु गरेको हो । प्रदेश नं ३ का वन सचिव तथा क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्लेले सालक पाइने प्वालमा क्यामेरा जडान गरी सो रानीवन सामुदायिक वनमा बिहीबार सर्वेक्षणको उद्घाटन गरेका थिए ।वाग्लेले विश्वमै दुर्लभ भएकाले नेपाल सरकारले यो प्रजातिलाई संरक्षित सूचीमा राखेको र यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए ।यसैगरी जिल्ला वन कार्यालय मकवानपुरका वन अधिकृत प्रल्हाद धितालले सालक संरक्षणका लागि जिल्ला वन कार्यालय समुदाय तथा साझेदार संस्थासँग मिलेर अगाडि बढ्ने बताए ।न्युरेनी, चुच्चेखोला र अशोक सामुदायिक वन गरी मकवानपुरका चारवटा सामुदायिक वनमा अत्याधुनिक खालका ३० वटा क्यामरा राखेर क्यामेरा ट्रयापिङ विधिबाट सर्भे शुरु भएको हो ।सामुदायिक वनका अध्यक्ष कृष्ण बिडारीले यहाँ विगत १२ वर्षदेखि सालकको संरक्षण गर्दै आएको बताए । प्राप्त तथ्यांकले सालकको यथार्थ अवस्था पत्ता लाग्ने उहाँको विश्वास छ ।लजालु स्वभावको स्तनधारी सालकको मासु र खबटा अन्तर्राष्ट्रिय क्षेत्रमा अवैध व्यापार हुन्छ । यसको नेपालमा खासै अध्ययन भएको छैन । विश्वमा आठ वटा प्रजातिका सालक पाइनेमा नेपालमा भने कालो र तामे सालक पाइन्छ । एक वर्षमा यसले सात करोड किरा धमिरा खाने हुनाले पारिस्थितिकीय प्रणालीलाई सन्तुलन गर्न ठूलो भूमिका खेल्छ ।अध्ययनले कस्तो प्रकृतिको माटोमा बस्छ, कुन दुलो सालकको हो, सालक र अन्य जनावरको दुलोमा के फरक छ र यसको बढी बासस्थान कहाँ रहेछ भनेर यकिन हुने कोषका संरक्षण अधिकृत भट्टराई बताछन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया