बैतडी । संसार हेर्ने आँखाको ज्योति नै गुमेपछि बैतडीमा एक दलित दम्पतीलाई जीवनयापन गर्न निकै सकस भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–१ कलौनका ३५ वर्षीय मदन लुहार र २५ वर्षीया पार्वती लुहार दृष्टिविहीन छन् ।
दुई छोरा र एक छोरीका अभिभावकसमेत रहेको यो दम्पतिको विवाह १० वर्षअघि भएको थियो । त्यतिबेला पार्वतीको उमेर १५ वर्षको मात्र थियो । मदनको पहिली श्रीमतीको मृत्यु भएपछि पार्वतीलाई दोस्री श्रीमतीका रूपमा भित्र्याएका मदनले आफू पनि शारीरिकरूपमा अशक्त भएपछि आफूजस्तै जीवन साथी खोजेको बताए। मदन आँखा नदेख्नुका साथै कान पनि सुन्दैनन् ।
पार्वती पाँच वर्षको हुँदा दृष्टिविहीन बनेका थिए । सानै उमेरमा आमा समस्या रहेको र माइतीको आर्थिक अवस्था कमजोर भएका कारण आफूले उपचार गराउन नपाएको पार्वतीले बताइन् । गरिबीका कारण सानै उमेरमा बिहे गरेकी पार्वतीको पीडा निकै दुःखदायी छ । पार्वती भन्छिन्,, “श्रीमान् आँखा देख्नुहुन्न र कान पनि सुन्नुहुन्न, दुबैजना घरको केही काम गर्न सक्दैनौँ, हामीहरुका दुई छोरा र एक छोरी छन् ।”
दश वर्षको छोरा कक्षा ५ मा र छ वर्षकी छोरी कक्षा १ मा पढ्छन् । अर्को छोरा भर्खर छ महिनाको भयो । छोराछोरीको शिक्षादीक्षा र लालनपोषणका लागिसमेत समस्या भइरहेको उहाँले बताउनुभयो । अहिले छोराछोरी अलि ठूला भएकाले उनीहरुको सहारामा कामधन्दा तथा बाहिरभित्र जाने गरेको पार्वतीले बताइन् । उनले भनिन्, “अशक्त भएकाले पशुचौपाया पनि पाल्न सकेका छैनौँ, खेतबारी पनि नभएकोले जिन्दगी गुजार्न सकस भएको छ ।”
पछिल्लो समयमा छोराछोरीले हिँड्नका लागि सहारा दिँदा भविष्यमा उनीहरुले खान बस्न देलान् भन्ने आस जागेको उनले बताए। पहिला त बाँच्न पनि निकै सकस भएकोले उतिबेलाको दुःख अहिले सम्झन नचाहेको उनले बताए । उनले भनिन्, “यो संसार कस्तो छ र आफ्ना छोराछोरी कस्ता छन् । एकचोटि भए पनि हेर्ने धोको पूरा नहुने पो हो की भन्ने चिन्ता छ ।”
आफूहरुलाई कसैले पनि नचिनेकाले सहयोग नगरिरहेको र गाउँलेले समेत हेला गर्ने गरेको उनले गुनासो गरे । कहिलेकाहीँ त आफूलाई पिटेरसमेत जाने गरेकाले कसले किन पिट्यो भन्नेसमेत थाहा नपाउने गरेको उनको भनाइ छ । आफूजस्ता अपाङ्गता भएका नागरिकका लागि सरकारले पनि केही नगरेको उनको गुनासो छ ।
अहिले मदन र पार्वती दम्पतीले वार्षिकरूपमा अपाङ्गता भत्ता पाउँदै आएको छ । उनीहरुले वार्षिकरूपमा २४ हजार रुपयाँ भत्ता पाउने गरेका छन् । भत्ताको रकमले नै दैनिक छाक टार्नका जोहो गरिरहेका दम्पतीको भनाइ छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया