प्रदेश सरकारले विराटनगरमा एक हजार शैयाको आइसोलेसन सञ्चालन गर्ने

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा थप एक हजार शैयाको आइसोलेसन  केन्द्र सञ्चालन गरिने बताएका छन् । यथाशीघ्र निर्माण गर्ने गरी कार्य अगाडि बढाउने बताउँदै प्रदेशभित्र हालसम्म आइसोलेसनको प्रयोगको अवस्थासहित विस्तृत विवरण तयार गर्न निर्देशन दिए ।

आइसोलेसन निर्माणको जिम्मा सामाजिक विकास मन्त्रालयलाई प्रदान गरिएको छ । आइसोलेशसन स्थानीय पालिका, निजी क्षेत्रलगायतसँंग समन्वय र साझेदारीमा सञ्चालन हुनेछन् ।

सरकारले प्रदेशभित्र लकडाउन, निषेधाज्ञा, कफ्र्यु आदि क्रमशः हटाउँदै जाने, सङ्क्रमण देखिएका स्थानमा मात्र सिल गरी कोभिड–१९ को चेन ब्रेक गर्ने र कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारमा प्रदेश सरकार, स्थानीय तह एवं स्थानीय प्रशासनसँग समन्वयात्मक रुपमा अगाडि बढ्ने नीति जनाएको छ ।

बैठकले भारतबाट स्थलमार्ग हुँदै आउने नेपालीका लागि तोकिएको प्रवेशविन्दुका अतिरिक्त पशुपतिनगर इलाम, रंगेली मोरङ, टांँगनडुवा झापा, गौरीगञ्ज झापा र भण्टाबारी सुनसरीलाई थप प्रवेशविन्दु (नाका) कायम गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी बैठकले भोजपुर नगरपालिका–६ देउरालीमा रहेको शैक्षिक तालीम केन्द्रको भवनमा २५ शय्याको आइसोलेशन वार्ड सञ्चालन एवं उदयपुरको नेत्रज्योति संघद्वारा निर्मित मदन भण्डारी आँखा अस्पतालमा आइसोलेशन वार्ड स्थापना गर्न उदयपुर अस्पताल, उदयपुरलाई अनुमतिसमेत दिएको छ ।

बैठकले कोभिड –१९ रोकथाम, नियन्त्रण र उपचारका लागि विशेष सचेतना अभियान,२०७७ लाई स्वीकृत गर्ने र कार्यान्वयनको जिम्मेवारी सामाजिक मन्त्रालयलाई प्रदान गर्ने निर्णय गरेको छ । तत्कालका लागि सो अभियान झापा, मोरङ र सुनसरी जिल्लामा लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?