प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल

भरतपुर । भरतपुर अस्पतालले प्लाज्मा थेरापीका लागि रक्तदान गर्न अपिल गरेको छ । कोरोना संक्रमणबाट निको भएकाले गम्भीर संक्रमितहरुका लागि रक्तदान गर्न अपिल गरिएको हो । कोभिड संक्रमित भई आइसोलेसनबाट निको भएकाले १४ दिनपछि रगत दिन सक्छन् । अस्पतालले प्लाज्मा थेरापीबाट संक्रमितको उपचारका लागि तयारी गरिसकेको छ । कोरोनाभाइरस सङ्क्रमित केही व्यक्ति उक्त विधिबाट उपचार गराई निको भएपछि यो विधिबाट उपचार गर्न देशका विभिन्न अस्पताललाई सरकारले अनुमती दिएको छ ।

भरतपुर अस्पतालका फिजिसियन डा. कल्याण सापकोटाले जटिल प्रकारका संक्रमितको सङ्ख्या बढिरहेकाले उनीहरुको प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने भएकाले रक्तदानका लागि अनुरोध गरिएको बताए । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिन्छ । यो विधिमार्फत कोरोना भाइरसबाट हुने मृत्युदर कम हुने डा सापकोटाले बताए ।

प्यासिभ एन्टिबडी थेरापी भनेको एक व्यक्तिमा बनिसकेको एन्टिबडी अर्को व्यक्तिलाई दिनु हो । अठार वर्ष उमेर माथिका व्यक्तिले रगतको प्लाज्मा दिन सक्छन् । कोरोना संक्रमण मुक्त व्यक्तिले दिने रगत रक्तदान नै हो । रगतमा भएको सेतो कोष हटाएर बनेको झोल पदार्थ नै प्लाज्मा हो । छुट्याइएको प्लाज्मा संक्रमितलाई दिने विधि प्लाज्मा थेरापी भएकाले प्लाज्मा थेरापीका लागि रगत दिँदा र लिँदा दुबैलाई कुनै असर नपर्ने बरु उपचारमा सहयोग पुग्ने डा. सापकोटा बताउँछन्।

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले दाताहरु रक्तदानका लागि इच्छुक रहेको बताए । उनले आज मात्रै माडीका ३ जनाले रक्तदान गर्ने जानकारी दिए । भरतपुर अस्पतालले डा. सापकोटाको संयोजकत्वमा प्लाज्मा थेरापीका लागि समितिसमेत बनाएर काम गरिरहेको छ । आवश्यकता र रगतको मौज्दातको आधारमा रगत सङ्कलन गरिने अस्पतालमा प्लाज्मा थेरापीका लागि सम्पर्क व्यक्ति गोपालप्रसाद पौडेलले जानकारी दिए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?