निजी शैक्षिक संस्थालाई डुबाउने खेल

चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) तर्फका प्रमाणपत्र तहमुनिका सबै कार्यक्रम खारेजी गरी निजी शैक्षिक संस्थालाई डुबाउने खेल खेलेको निजी शैक्षिक संस्थाहरूले बताएका छन् ।

निजी प्राविधिक शिक्षालय महासंघ, नेपालले आयोगको निर्णयविरुद्ध प्रेस विज्ञप्ति जारी गर्दै तत्काल विनासर्त निर्णय फिर्ता लिन आग्रह गरेका छन् । निजी प्राविधिक शिक्षालय महासंघ नेपालका अध्यक्ष वसन्त खनालले आयोगको निर्णयले निजी शिक्षालयको १० अर्ब लगानी डुब्ने जोखिम बढेको जनाए ।

आयोगको दुई साताअघि बसेको बैठकले स्वास्थ्य शिक्षाका प्रमाणपत्र तह र सिटिइभिटीतर्फका प्रमाणपत्र तहमुनिका सबै कार्यक्रम खारेजी गरेको थियो । यसले स्वास्थ्य शिक्षाका १८ महिने टिएसएलसी शिक्षा हासिल गरिरहेका १२ हजार परीक्षार्थीमा आतंक सृजना गरेको छ । कोरोना महामारीको विषम परिस्थितिमा आयोगको निर्णय असान्दर्भिक भएको भन्दै स्वास्थ्य शिक्षाका टिएसएलसी कार्यक्रम सञ्चालन गरिरहेका एक सय ३७ निजी कलेज र सिटिइभिटीका चार आंगिक कलेजसमेत विरोधमा उत्रिएका छन् ।

२०५१ सालदेखि निजी प्राविधिक शिक्षालयले यी विषय पठनपाठन गराउँदै आएका छन् । हाल एक सय ३७ निजी शिक्षालय १८ महिने स्वास्थ्य शिक्षाका टिएसएलसी कार्यक्रम सञ्चालन गरिरहेको निजी प्राविधिक शिक्षालय महासंघ नेपालका अध्यक्ष वसन्त खनालले जनाए । उनले आयोगले विकल्पबिनै टिएसएलसी खारेजी गर्दा निजी शिक्षालयको १० अर्बको लगानी डुब्ने जोखिम बढेको जनाए । उनले भर्खरै एसइईको नतिजा प्रकाशन भएको र निजी शिक्षालयले भर्नाको तयारी गरिरहेकै समयमा ए्रक्कासि आयोगले बदनियतपूर्वक खारेजी गरेको आरोप लगाए । उनका अनुसार टिएसएलसीतर्फ एसइईमा कमजोर ग्रेडका बर्सेनि २२ हजार विद्यार्थी भर्ना हुने गरेका थिए । नागरिक दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?