भोलि राष्ट्रपतिको मनोनयन , खनाल, भण्डारी र नेम्वाङको दाबी, कसले मार्ला बाजी ?

काठमाडौं, २२ फागुन- नयाँ संविधान जारी भएसँगै संघीय गणतन्त्र नेपालको पहिलो राष्ट्रपति चयनका लागि भोलि (बुधबार) मनोनयन दर्ता हुँदै छ । गठबन्धनका कारण राष्ट्रपति वाम गठबन्धनबाट निर्वाचित हुने निश्चितजस्तै बनेको छ भने एमालेबाट उम्मेदवारका लागि तीन जनाले दाबी गरेका छन् ।आगामी २९ गते राष्ट्रपति चयनका लागि हुने निर्वाचनमा वाम गठबन्धनबाट एमालेका तर्फबाट उम्मेदवारी रहनेछ भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने तयारी गरेको छ । गत मंसिरमा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पनि संयुक्त रूपमा उम्मेदवारी दिएका वाम गठबन्धन एमाले र माओवादी केन्द्रसँग झन्डै दुई तिहाइ मत रहेको छ ।दुई दलले दुई संवैधानिक पद राष्ट्रपति र सभामुख एकअर्कामा भागबन्डा गरेकाले राष्ट्रपतिमा एमालेका तर्फबाट र सभामुखमा माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी रहने भएको हो ।एमालेले राष्ट्रपतिको उम्मेदवार टुंग्याउन आज (मंगलबार) पार्टी सचिवालय समितिको बैठक आह्वान गरेको छ । बैठकले नयाँ राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने एमाले नेता सुवास नेम्वाङले जानकारी दिए ।एमालेभित्र राष्ट्रपतिका लागि तीन जनाले इच्छा देखाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः दोहोरिन इच्छा देखाएकी छन् । संक्रमणकालका कारण पूर्ण कार्यकाल पदमा बस्न नपाएको भन्दै उनले पुनः दोहोरिने आकांक्षा राखेकी छिन् । राष्ट्रपतिका लागि भण्डारीले राजनीतिक लबिङसमेत तीव्र पार्दै आएकी छन् । उनले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारसँग निकटता बढाउने उद्देश्यले डिनर गरेकी थिइन् भने पार्टीभित्र राजनीतिक भेटलाई समेत तीव्रता दिएको एमाले नेताहरू बताउँछन् ।पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपतिमा इच्छा देखाएका छन् । उनले यसअघि सार्वजनिक रूपमा नै पार्टीले जिम्मा दिएमा राष्ट्रपतिमा जाने अभिव्यक्ति दिएका थिए । खनालले एउटै पदमा पटकपटक एउटै व्यक्ति दोहो¥याउन नहुनेसमेत बताउँदै आएका छन् ।संविधानसभा पूर्वअध्यक्ष सुवास नेम्वाङले समेत राष्ट्रपतिमा इच्छा देखाएका छन् । नेम्वाङले पहिलो संविधानसभामा अध्यक्षको रूपमा महत्वपूर्ण भूमिका खेलेकाले पनि उनको सम्भावना पनि बलियो रहेको एमालेभित्र चर्चा छ ।प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली पक्षले भण्डारीलाई राष्ट्रपतिमा दोहो¥याउन चाहेको समेत बताइन्छ । यता, ओलीको सहयोगीका रूपमा भूमिका खेल्दै आएका नेम्वाङलाई पनि बनाउने सोचमा ओली रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?