कोरोनाबाट मेक्सिकोमा १३ सय भन्दा धेरै स्वास्थ्यकर्मीको निधन

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसविरुद्धको भ्याक्सीन बनाउन वैज्ञानिक अहोरात्र खटिएका छन् । तर पूर्ण रुपमा सफलता भने हात पर्न सकेको छैन ।

यसैबीच कोरोना संक्रमणबाट प्रभावित बनेको देश मेक्सिकोमा १३ सय भन्दा धेरै स्वास्थ्यकर्मीको कोरोना भाइरसका कारण निधन भएको छ ।

मेक्सिकोका स्वास्थ्य मन्त्री ह्यूगो लोपेजले बुधवार कोरोना महामारीका कारण मेक्सिकोमा अहिलेसम्म १३०० भन्दा धेरै स्वास्थ्यकर्मीहरुले ज्यान गुमाएको बताएका छन् ।

मेक्सिकोमा अहिलेसम्म कोरोना भाइरसका कारण ६१ हजार ४५० जनाको मृत्यु भएको छ भने ५ लाख ६८ हजार ६२१ जनालाई संक्रमण भएको छ ।

त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ६५० जनाको मृत्यु भएको छ भने ४ हजार ९१६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै ३ लाख ९३ हजार १०१ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १ लाख १४ हजार ७० जना उपचाररत छन् । त्यस्तै ३ हजार ४४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?