पूर्वी चितवनका चार स्थानीय तहमा निषेधाज्ञा

चितवन । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि पूर्वी चितवन क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पूर्वी चितवनको रत्ननगर, खैरहनी, कालिका र राप्ती नगरपालिकाका प्रमुख र सुरक्षा निकायसहित आज बसेको संयुक्त बैठकले पूर्वी चितवनको सबै क्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो ।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालका अनुसार बैठकमा आज राति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइएको छ । उनले भने “कोरोनाको महामारी फैलिएको छ । अब निषेधाज्ञा जारी नगरे हिँडडुल रोक्न सकिएला जस्तो छैन ।” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पूर्वी चितवनका चार नगरपालिकाले संयुक्त बैठक बसेर निषेधाज्ञाको अनुरोध गरेको बताए ।

यससँगै प्रशासनले आजै सूचना जारी गरी निषेधाज्ञा गर्ने भएको छ । त्यस्तै बैठकले बकुलहर रत्ननगर अस्पतालमा कोरोना आइसोलेसन बनाउने र रत्ननगरमा कोरोना परीक्षणका लागि प्रयोगशाला माग गर्ने निर्णय गरेको बरालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?