ओली प्रचण्डबीचको दूरी मेटाउन सक्लान् झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङले ?

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी गतिरोध अन्त्यको प्रयास स्वरुप यतिबेला प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच संवाद शुरु भएको छ ।

एकअर्काप्रति लक्षित गरी अनेकन आरोप र दोष थोपार्ने ओली र प्रचण्ड ६ दिन पछि टेबुल टकका लागि बसेका हुन् ।

ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका प्रचण्डले यसअघि माधव कुमार नेपाल ‘साक्षी’ राखेर वार्ता गरेकोमा आज (आइतवार) भने वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका थिए ।

पछिल्लो समय ओलीको एकलौटी निर्णय गर्ने प्रवृत्ति बढेसँगै पूर्व एमालेका नेताहरु पनि खुलेरै ओलीको विरोध गर्ने र प्रचण्ड समूहमा मिल्ने गरेका छन् । प्रचण्डले यसअघि पूर्व माओवादीका नेताहरु लिएर ओलीकहाँ गएका थिए । पार्टीकै आन्तरीक रणनीतिका कारण ‘रक्षात्मक स्थिती’मा पुगेका प्रचण्ड ओलीलाई एमाले नेताहरुसँगको गठजोड देखाउन खनालाई लिएर बालुवाटार गएको हुनसक्ने जानकार बताउँछन् ।

बैठकमा सुवासचन्द्र नेम्वाङ पनि सहभागी छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको टकराब बढ्दै जाँदा पार्टी दिशाहिन बनिरहेको छ ।

अझ सार्वजनिक कार्यक्रममा एकले अर्को अध्यक्ष लक्षित निर्मम अभिव्यक्ति दिन थालेपछि पछिल्लो तीन सातादेखि दुई अध्यक्षबिचको दूरी बढीरहेको छ ।

गत असार १० गतेदेखि सुरु भएको पार्टीको ५ औँ स्थायी कमिटी बैठक विभिन्न ७ एजेण्डा तय गरेतापनि तेस्रो दिनदेखीको कलहका कारण लफडामा फसेको थियो ।

यसअघि साउन १३ गते बसेको स्थायी कमिटीको बैठकले प्रचण्डलाई प्रधानमन्त्री एवम् पार्टीका अर्का अध्यक्ष ओलीसँग छलफल गरेर पार्टीको विवाद हल गर्ने जिम्मेवारी सुम्पेका थिए ।

प्रचण्डले ओलीसँग प्रधानमन्त्री र पार्टीको अध्यक्ष दुवै पदबाट राजीनामा मागेका छन् ।

सचिवालयमा पनि बहुमत सदस्यले राजिनामा मागेका छन् । स्थायी कमिटीमा पनि ओलीको कार्यशैली चित्त नबुझेको भन्दै विरोध आएको छ ।

अध्यक्ष अ‍ोली भने कुनै पनि हालतमा दुवै पदबाट राजीनामा नदिने बरु ‘अर्ली’ महाधिवेशन गर्ने र महाधिवेशनबाट नेतृत्व चयन गर्ने प्रस्तावमा अडीग छन् ।

साउन १३ बस्ने भनिएको पूर्वनिर्धारित स्थायी कमिटीको बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपनि पूर्वनिर्धिरित योजनामुताविक प्रचण्डले सोही दिन आफ्नो अध्यक्षतामा बैठक बसाएर २९ जना स्थायी कमिटी सदस्यसँग कुराकानी गरेका थिए ।

तर सोही दिन पार्टीका उपाध्यक्ष वामदेव गौतमले ६ बुँदे प्रस्ताव सार्वजनिक गरे। सो प्रस्ताव दुवै अध्यक्षलाई सम्बोधन गरी पेश गरिएतापनि प्रधानमन्त्री ओलीको पक्षमा रहेको र आफ्नै गुटमा रहेका गौतम ओलीतिर ढल्किएपछि प्रचण्ड ‘हच्कीएका’ थिए ।

पछि जब गौतम लगायत उनको गुटमा रहेका हरिबोल गजुरेल, रामबहादुर थापा, लेखराज भट्ट,मणि थापा लगायतका नेताहरु प्रचण्डको विपक्षमा बोल्न थाले त्यसपछि प्रचण्ड थप ‘रक्षात्मक’ बन्दै गएका छन् ।

आज खनाल, नेम्वाङसहित ओली र प्रचण्डबीचको भेटवार्ताले कुनै निष्कर्ष निकाल्छ कि भन्ने अपेक्षा गरिएको छ ।

यसअघि प्रकाशित यो समाग्री छुटाउनुभएको थियो कि ? 

नेकपामा किन भेटिएन सञ्जीवनी बुटी, के प्रधानमन्त्रीको ‘कुर्सी भाँच्न’ चाहन्छन् ओली ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?