गलेश्वर । गत असार २५ गते पश्चिम म्याग्दीको धौलागिरि र मालिका गाउँपालिकामा गएको भीषण पहिरोबप्रभावितलाई नेपाली कांग्रेस म्याग्दीले पहिलो चरणमा साढे १० लाख रुपैयाँभन्दा बढीको राहत सामग्री वितरण गरेको छ ।
आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा मराङ, कल्लेनी, कुम्री, राम्चे, विम, धारापानी, ताकमलगायतका क्षेत्रमा राहत वितरण गरेको जानकारी दिइयो । म्याग्दी काँग्रेसका सभापति खम्वीर गर्बुजाको नेतृत्वमा म्याग्दी कांग्रेसका नेता तथा भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी घटनास्थलमा नै पुगेर प्रभावितकै हातमा राहत सामग्री सहयोग गरेको कांग्रेस म्याग्दीका प्रवक्ता अजयमिलन श्रेष्ठले जानकारी दिए ।
प्रवक्ता श्रेष्ठका अनुसार मराङका पहिरो पीडितलाई दुई लाख ८१ हजार ६५० रुपैयाँ र कल्लेनीमा ८२ हजार ७०० गरी तीन लाख ७० हजार रुपैयाँ, ताकममा १३४ घरपहिराको जोखिममा रहेका ताकमवासीलाई दुई लाख ४३ हजार, धारापानीमा दुई लाख ७५ हजार र मालिका गाउँपालिका बिममा पहिरो प्रभावित परिवारलाई एक लाख ६९ हजार ७५० रुपैयाँको राहत वितरण गरिएको हो ।
नेपाली कांग्रेसको राहत तथा उद्धार कोषको खातामा हालसम्म आठ लाख २१ हजार सहयोग जम्मा भएको कांग्रेस म्याग्दीका सहसचिव भरत रकालले जानकारी दिए । म्याग्दी कांग्रेसका सभापति खमवीर गर्बुजाले नेपाली कांग्रेसबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई पहिरोबाट प्रभावित क्षेत्रमा आवश्यक सहयोग जुटाउनमा तत्पर रहन आग्रह गरेको बताए ।
पहिरो प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा राख्न, सडक, पदमार्ग खानेपानी, औषधि, बिजुली र आवासको व्यवस्थामा सरकार लाग्नुपर्ने बताउँदै नेपाली कांग्रेस आवश्यक सहयोगका लागि तत्पर रहेको सभापति गर्बुजाले प्रतिबद्धता व्यक्त गरे । सभापति गर्बुजा र संविधानसभा सदस्य रेशम बानियाँको नेतृत्वको टोलीले पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत वितरण गरेका गरेका थिए । कांग्रेसले हेलिकप्टर र खच्चडमार्फत पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याएको जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया