‘राम र अयोध्या’बारे प्रधानमन्त्रीको अभिव्यक्तिमा मन्त्री भट्टराईले गरे खण्डन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘राम र अयोध्या’ का बारेमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको घुमाउरो तरिकाले खण्डन गरेका छन् ।

भानु जयन्तीका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राम र अयोध्या’का विषयमा दिएको अभिव्यक्तिको पर्यटनमन्त्री भट्टराईले घुमाउरो तरिकाले खण्डन गरेका हुन् । मन्त्री भट्टराईले नेपाल धर्म, संस्कृति, परम्परा र भाषाका हिसाबले पुरानो मुलुक भएपनि अहिलेको समयमा यस्ता कुरा गर्दा चनाखो हुनुपर्ने भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिको खण्डन गरे ।

बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मन्त्री भट्टराईले सन्तुलित र तथ्यपरक ढंगले विचार व्यक्त नगर्दा त्यसले सांस्कृतिक र जातिय द्वेसहरु फैलाउने बताए । सबैको आ-आफ्नै संवेदनशीलता हुने उल्लेख गर्दै उनले यस्ता कुरामा विचार राख्दा चनाखो हुनुपर्ने बताए । उनले भने, ‘‘नेपाल धर्म, संस्कृति, परम्परा र भाषाका हिसाबले पुरानो मुलुक हो । यसमा कुनै दुईमत छैन् । विभिन्न क्षेत्रबाट यसको अध्ययन गरी तथ्यहरु बाहिर ल्याउँदै जानुपर्छ । आजको दिनमा हामीले यस्ता कुरा गर्दा सबैको आफ्ना संवेदनशीलता हुन्छन् । जातिय, भाषिक, धार्मिक, सांस्कृतिक र देश देशका संवेदनशीलता हुन्छन् । त्यस कुरामा चनाखो हुनै पर्छ । सन्तुलित र तथ्यपरक ढंगले आफ्नो विचार प्रकट गर्नुपर्छ । त्यसले जातिय, सांस्कृतिक, धार्मिक, भाषिक द्वेसहरु जन्मिनेतर्फ भन्ने तर्फ ध्यान दिनुपर्छ । कुनै पनि छिमेकी मुलुकसँग हाम्रो सम्बन्ध प्रतिकुल नहोस भन्नेमा हामी सचेत छौँ । सरकार सचेत छ ।’’

मन्त्री भट्टराईले सांस्कृतिक तथा पुरातात्विक विषयमा अध्ययन, अनुसन्धान र अभिलेख नेपालसँग नभएको समेत बताएका छन् । उनले पशुपति, लुम्बिनी लगायतका धार्मिक क्षेत्रको विकासका लागि गुरुयोजना तयार भएको समेत बताए । यद्यपी मन्त्रिपरिषद्बाट पारित हुन बाँकी रहेको छ । पर्यटन क्षेत्रको विकासका लागि सातै प्रदेशका मुख्य चाँडपर्वहरु संरक्षणको अभियान सुरु गरिएको उनले बताए । सात वटै प्रदेशमा प्रति प्रदेश एक गाउँ पर्यटकीय गाउँको रुपमा विकास गर्ने गरी काम अगाडी बढाइएको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?