काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ गतेका लागि बोलाइएको वार्षिक साधारण सभा स्थगित हुने अवस्थामा पुगेको छ । आजै बस्ने महासंघको पदाधिकारी बैठकले साधारण सभा स्थगित गर्ने प्रबल सम्भावना छ ।
सरकारले लकडाउन खुला गरे पनि सामूहिक भोज, पार्टी, सेमिनार तथा सामूहिक भेला गर्न रोक लगाएका कारण महासंघ नेतृत्व साधारण सभा स्थगित गर्ने मुडमा पुगेको हो ।
महासंघकी अध्यक्ष भवानी राणाले यस सन्दर्भमा ठोस निर्णय लिन नसकेपछि पूर्व अध्यक्षहरुलाई गुहार्न पुगेकी हुन् । उनले यस विषयमा निर्णय लिन बिहीबार पूर्वअध्यक्षहरु सहित पदाधिकारी बैठक डाँकेकी छिन् । ‘सरकारले पूर्णरुपमा लकडाउन सकिएको घोषणा गरे पनि सामूहिक भेला गर्न रोक लगाएकाले महासंघको चुनाव गर्न नसकिने भन्दै पूर्वअध्यक्ष सहितको बैंठक बोलाएको महासंघका एक पदाधिकारीले बताए ।
साधारण सभा र निर्वाचनको विषयलाई लिएर महासंघमा प्रष्ट ध्रुवीकरण देखिएको छ । साधारण सभा स्थगित गर्ने कि वैकल्पिक उपायबाट गर्ने भन्ने बहसहरु समेत चल्न थालेको छ ।
महासंघको आज बस्ने पदाधिकारी बैठकले साधारण सभा स्थगित गरेमा असोज अघि महासंघको साधारण सभा टर्ने देखिन्छ । महासंघको विधानमा नै साधारण सभा डाक्नु अघि कम्तीमा ३० दिन अघि सूचना जारी गर्नुपर्ने हुन्छ । आजको पदाधिकारी बैठकले चुनाव सार्ने निश्चित जस्तै छ । चुनावी माहोल तात्दै गर्दा चुनाव सार्ने र नसार्ने पक्ष विपक्षमा पनि उद्योगी व्यवसायीहरु खुलेर लागेका छन् ।
सरकारले काठमाडौं उपत्यका छिर्न अनुमति लिनुपर्ने व्यवस्था गरेको, आन्तरिक हवाई उडान पनि भदौ १ गतेदेखि मात्रै खुल्ने, कोरोना संक्रमण बढ्दो अवस्थामा रहेको र सहज रुपमा आवत–जावत पनि गर्न नसकिने अवस्था भएकाले व्यवसायीको स्वास्थ्य सुरक्षाप्रति संवेदनशीलता देखाउँदै महाधिवेशन केही पर सार्ने निर्णय गर्न पदाधिकारी बैठक बोलाइएको संस्थापन निकट एक व्यवसायीले लोकपथलाई बताए ।
महासंघका पूर्वअध्यक्ष तथा विशिष्ट सदस्य चण्डीराज ढकालले अहिले पनि कार्यसमितिले बाधा अड्काउ फुकाउ गर्न सक्ने बताउँछन् । तर, यसको मतलब विधानको दफा–दफामा लेखिएका कुराहरुलाई पदाधिकारी समिति, स्थायी समिति वा कार्यसमितिले सबै फुकाउन सक्छ भन्ने पनि होइन् । “तथापि अहिलेको विषम परिस्थितिलाई हेरेर साउन २६ र २७ मा साधारण सभा र निर्वाचन हुन्छ नै भन्ने पक्षमा हामी छौं”, उनले भने ।
विगत चार महिनादेखि महासंघ निर्वाचनको प्रक्रियामा गइसकेकाले अनिर्णयको बन्दी बनाइन नहुने उनको तर्क छ । “अहिले कोही न्यायिक पक्षमा गएको छैन । यदि भोलि त्यो अवस्था आयो भने अर्को दुर्घटना निम्त्याउन सक्छ । त्यसैले अब तोकिएको मितिभित्र निर्वाचन गरेर निर्वाचित कार्यसमिति अहिलेको विषम परिस्थितिमा निजी क्षेत्रमा देखा परेका समस्याको समाधान गर्नेतर्फ अग्रसर हुनुपर्छ”, ढकालले भने ।
तर, महासंघका अर्का एक पूर्वअध्यक्षले सरकारले लकडाउन हटाए पनि सभा सम्मेलन गर्न अनुमति खुला नगरेको र २५ जनाभन्दा बढी भेला भएर कुनै पनि कार्यक्रम गर्न नपाइने नियम लागू रहेसम्म तोकिएको समयमा महाधिवेशन गर्न नसकिने बताउँछन् । यस विषयमा पदाधिकारी बैठकले उपयुक्त निर्णय लिने विश्वास व्यक्त गरे ।
आज बस्ने पदाधिकारी बैठकले निर्वाचन सारेमा महासंघमा लामो समयसम्म नेतृत्व पेन्डुलममा रहनेछ । निर्वाचन घोषणा भइसकेकाले अहिलेको नेतृत्वले कुनै पनि महत्वपूर्ण निर्णयहरु गर्न सक्दैन । कोरोनाले ग्रस्थ बनेको अर्थतन्त्र उकास्न महासंघ एकबद्ध भएर अघि बढ्नुपर्ने बेलामा महासंघ नेतृत्व नै कमजोर हुँदा उद्योगी व्यवसायीका समस्याहरु समाधान नहुने तर्क पनि आउन थालेका छन् ।
केही पदाधिकारीहरु वैकल्पिक माध्यमबाट पनि महासंघको साधारण सभा र निर्वाचन गर्नुपर्ने बताउँछन् । भर्चुअल माध्यमबाट भए पनि नेतृत्व छनौट गर्नुपर्ने महासंघका अर्का एक पदाधिकारी बताउँछन् । “महासंघलाई काम गर्न नसक्ने अवस्थामा राख्नु भनेको उद्योगी व्यवसायीहरुको समस्याहरु जस्ताको तस्तै राख्नु हो । यसलै सरकारसँग अनुरोध गरेर हुन्छ, कि अन्य वैकल्पिक उपायबाट हुन्छ, नयाँ निर्वाचनको वातावरण बनाउनुपर्छ”, नेतृत्व चयन गर्नुपर्छ ती पदाधिकारीले भने ।
तत्कालकै महासंघको साधारण सभा र निर्वाचन गर्ने अवस्था नहुँदाको अवस्थामा महासंघलाई निकास दिन महासंघले ऐतिहासिक निर्णय लिन सक्नुपर्ने तर्कहरु पनि आउन थालेका छन् । अहिलेको नेतृत्व अधिकारविहीन जस्तै भएको अवस्थामा भावी अध्यक्षलाई काम गर्ने वातावरण बनाउनुपर्ने आवाजहरु पनि सुनिन् थालेका छन् ।
यथास्थितिमा महासंघको चुनाव गर्ने अवस्था नरहेमा वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई महासंघको नेतृत्व गर्न दिनुपर्ने एक पदाधिकारीको भनाई छ । शेखर गोल्छाजी अबको अध्यक्ष हो, महासंघ नेतृत्वलाई पेन्डुलममा राखेर बस्नुभन्दा वर्तमान कार्यसमितिलाई राजीनामा गर्न लगाएर गोल्छालाई नेतृत्व छाड्नुपर्ने ती पदाधिकारी बताउँछन् । “संकटको अवस्थामा निकास खोज्ने हो, गोल्छा भावी अध्यक्ष हो, उहाँलाई काम गर्ने वातावरण मिलाइदिनुपर्छ”, उनले भने ।
सरकार पछिको ठूलो सञ्जाल भएको महासंघ नेतृत्वले अहिलेको परिस्थितिमा उचित निर्णय लिन नसकेमा महासंघ अन्य संस्थाहरुको पछि लाग्नुपर्ने अवस्था समेत आउने देखिन्छ । कोरोनाबाट प्रभावित उद्योगी व्यवसायीलाई राहत उपलब्ध गराउने सन्दर्भमा, जिल्ला नगर तथा साना मझौला व्यवसायीहरुले खेप्नु परेका समस्या समाधानका विषयमा नयाँ नेतृत्व चयन नभइन्जेल कसले पहल गर्ने चिन्ता र चासो पनि व्यवसायी जगतमा देखिएको छ ।
यसअघि महासंघले विधान अनुसार गत चैत २८ र २९ गते साधारण सभा गर्ने तय गरेको थियो । तर, सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण र रोकथामको लागि चैत ११ गतेदेखि देशव्यापी लकडाउन घोषणा गरेपछि महासंघको चुनाव सरेको थियो । सरकारले असार १ गतेदेखि क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेपछि महासंघले साउन २६ र २७ गतेका लागि ५४ औं वार्षिक साधारण सभा बोलाएको थियो । उक्त मितिमा निर्वाचन गर्न वरिष्ठ उपाध्यक्षका दुई प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी प्रचार–प्रसारमा होमिएका थिए ।।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया