देशभर कोरोनाको जोखिम ह्वात्तै बढ्यो

संक्रमण रोकथामका लागि आवश्यक आधार तयार नगरी सरकारले लकडाउन हटाएकाले जोखिम झनै बढेको विज्ञहरूले बताएका छन् । उनीहरूले कुनै पनि बेला कोभिड–१९ संक्रमणको विस्तार व्यापक हुन सक्ने चेतावनी दिएका छन् ।

लकडाउन खोलेपछि संक्रमितको संख्या अझै बढ्ने भए पनि त्यसअनुसारको सबै तयारी सरकारबाट हुन नसकेकोमा उनीहरूको गम्भीर आपत्ति छ । ‘अहिले संक्रमित दिनहुँ देखिराखेकै अवस्था छ, बुधबार पनि सरकारले दुई जनाको मृत्यु भएको बताइरहेको छ । यस्तोमा लकडाउन टुंगियो भन्दा अलि नमिलेजस्तो देखिन्छ,’ नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले भने, ‘लकडाउन खोल्न केही आधारहरू पूरा गर्नैपर्ने हुन्छ । डब्लूएचओले समेत चारवटा आधार भए मात्र लकडाउन हटाउन सकिने भनेको छ, तर नेपालले यो पालना गरेन ।’

लकडाउन हटाएपछि जोखिम अझै बढ्ने भएकाले संक्रमितको उपचार गर्न विशेष र अत्यन्तै राम्रो हिसाबले अस्पतालको तयारी गरिनुपर्छ । स्वास्थ्य जनशक्ति, भेन्टिलेटर, आईसीयू बढाउनुपर्छ । पीसीआर परीक्षणको दायरा व्यापक बनाउनुपर्छ । लकडाउन खुलेपछि आम व्यक्ति काममा फर्कने भएकाले कार्यालय वा कार्यस्थलमा सुरक्षित साथ काम गर्ने वातावरण सम्बन्धित कार्यालयले मिलाउनुपर्छ ।

कार्यालयमा कर्मचारी संक्रमणबाट जोगिने सुनिश्चितता हुनुपर्छ । लकडाउनपछि कसरी सुरक्षित हुने भन्नेबारे सर्वसाधारण सुसूचित हुनुपर्छ । लकडाउन खुलेपछि नयाँ सामान्यीकरणमा सुरक्षित हुने वातावरण राज्य र सम्बन्धित निकायले बनाउनुपर्छ । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?