महोत्तरी । सोनमा गाउँपालिका –३ रघुनाथपुर गाउँमा आज पानी निकासको विषयलाई लिएर दुई परिवारबीच कुटाकुट हुँदा सात जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार स्थानीय सुजित यादव र चतुरी यादवका परिवारबीच पानी निकासको विषयलाई लिएर झैझगडा र कुटाकुट हुँदा तीन महिलासहित घाइते भएका छन् ।
घाइते हुनेमा चतुरी यादवका छोरा रुपेश, भाइबुहारी वर्षा र आमा तथा सुजित यादव, उनकी पत्नी किरणदेवी, छोराहरु रविशंकर यादव र हरिशंकर यादव रहेको प्रहरी उपरीक्षक विष्टले जानकारी दिए । हात, मुक्का र भाटाले कुटाकुट गरेका उनीहरु घाइते भई जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सवारी दुर्घटनामा ४६ जनाको मृत्यु
जिल्लामा सवारी दुर्घटनामा परी गत आवमा ४६ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक कार्यालय बर्दिबास, महोत्तरीका अनुसार आव २०७६÷७७ मा सवारी दुर्घटनामा परी जिल्लामा ३१ पुरुष, १० महिला र पाँच बालबालिकाको मृत्यु भएको हो ।
विसं २०७६ साउन १ देखि असार ३१ गतेसम्म महोत्तरीमा कुल १७४ सवारी दुर्घटना भएकामा ९५ गम्भीर घाइते र ७३ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
कार्यालयका अनुसार दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर सबैभन्दा बढी छन् । त्यसपछि जीप, कार, टेम्पो, भ्यान, ट्रक, ट्रयाक्टर तथा सबैभन्दा कम दुर्घटना हुनेमा माइक्रोबस रहेको छ ।
दुर्घटनाका कारणमा राजमार्गमा तीव्रगति, चालकको लापर्बाही, छाडा चौपाया, जङ्गली जनावर, चालकद्वारा मदिरा सेवन, क्षमताभन्दा बढी यात्रु तथा मालसामान बोकाइ, पैदलयात्रुले जथाभावी बाटो काट्नुलगायत रहेको ट्राफिक कार्यालयको तथ्याङ्कले देखाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया