तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले ऋषिङका भैँसीकिली पुगेर आइतबार पहिरो पीडितलाई सहयोग हस्तान्तरण गरेका छन् । ऋषिङ–८ भैँसीकिली निवासी अम्बरबहादुर थापाका पाँच जनाको पहिरोमा परी मृत्यु भएपछि नेता भण्डारी घरमै पुगेर विभिन्न सङ्घ संस्थाबाट आएको सहयोग रकम दुई लाख ११ हजार १०५ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
गैरआवसीय नेपाली सङ्घ अमेरिकाका क्षेत्रीय संयोजक राजन त्रिपाठी र अमेरिकाका उपाध्यक्ष कृष्णजीवी पन्थबाट प्राप्त ५० हजार रुपैयाँ, नेपाल रेडक्रस सोसाइटी कोटदरबाट ७२ हजार ६०५ रुपैयाँ, ऋषिङ ६ का ल्यापटेन परिवारबाट २० हजार ५०० रुपैयाँ, नेपाली काँग्रेस ऋषिङबाट २१ हजार ५०० रुपैयाँ, शहीद सरस्वतिकृष्ण श्रेष्ठको परिवारबाट २० हजार रुपैयाँ, सोम रानाबाट २० हजार रुपैयाँ र शिक्षक सङ्घबाट रु सात हजार सहयोग प्राप्त रकम उनले प्रदान गरेका हुन् ।
नेपाली कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आले र गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको समेत उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । सो अवसरमा पूर्वमन्त्री भण्डारीले यस विपद्को घडीमा तीन तहका सरकारको साथ र सहयोग आवश्यक रहेको बताए।
घरमाथिबाट आएको पहिरोले पुरिँदा अम्बरबहादुरका छोरा ३० वर्षीय भेषबहादुर, बुहारी २९ वर्षीया नानुमाया, पाँच वर्षीया नातिनी अमिषाका साथै अर्का छोरा २२ वर्षीय महादेव र बुहारी १९ वर्षीया मनिसराको मृत्यु भएको हो । केही दिनअघि मात्रै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले एकै परिवारका पाँच जनाको मृत्यु भएपछि जनही ५० हजार रुपैयाँका दरले दुई लाख ५० हजार रुपैयाँ मृतकका आफन्त थापालाई प्रदान गरेका थिए । अम्बरकी श्रीमती ६० वर्षीया ज्योतिमाया पहिरोमा परी सख्त घाइते भएकाले अहिले गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।
त्यसैगरी जिल्लाको व्यास नगरपालिका–९ माझफाँटमा पहिरोमा परी मृत्यु भएका ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज, छोरी २१ वर्षीया अञ्जना, सोही ठाउँकी छिमेकी ७० वर्षीया मैतकुमारी घर्तीका परिवारलाई नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यसअघि नै राहत वितरण गरिसकेका छन् । तनहुँमा चार स्थनामा गएको पहिरोमा परी ११ जनाको निधन भएको छ भने एक जना अझै बेपत्ता छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया