नगरप्रमुख मलासीको श्वासप्रश्वासमा समस्या, हेलिकप्टरबाट काठमाडौं ल्याइयो

काठमाडौं । दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको श्वासप्रश्वासमा समस्या आएपछि उपचारार्थ नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लयाइएको छ ।

उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टाइनमा राख्न सक्रिय हुँदै आएकी थिइन् । उनीलाई एक हप्ताअघिदेखि श्वासप्रश्वासमा समस्या आएको उनका परिवारले जनाएका छन् । अर्धचेत अवस्थामै उनलाई आज बिहान काठमाडौँ लगिएको बताइएको छ ।

चिकित्सकको सल्लाहअनुसार घरमा आराम गरिरहेकी नगरप्रमुख मलासीलाई बिहीबार राति एकाएक श्वासप्रश्वासमा निकै समस्या आएपछि काठमाडौँ लगिएको उनका स्वकीय सचिव रवीन्द्र जोशीले बताए ।

उनले भने, “क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा उहाँलाई समस्या देखिएको थियो, धनगढी गएर उपचार गर्दा चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए, गएराति एकाएक स्वास्थ्यमा समस्या आएपछि उहाँलाई आज काठमाडौँ लगिएको हो ।”

नगर प्रमुख मलासी उच्च रक्तचापसम्बन्धी औषधि सेवन गर्दै आएकी उनका श्रीमान् कृष्ण मलासीले जानकारी दिए ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?