युवराज पंगाली / सुर्खेत । पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको जातीय विभेद घटनाका पीडितले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।
घटनामा सलंग्न भएका वडाध्यक्ष डम्बरबहादुर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, आफन्त सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुन मगर लगायतका २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा सम्बन्धमा किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
यसअघि प्रहरीले किटानी जाहेरी लिन मानेको थिएन । जिल्ला प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठका अनुसार दलित अधिकारकर्मी र पीडित परिवारले घटनाबारे निष्पक्ष छानबिन हुनु पर्ने, पीडित परिवारलाई राज्यले क्षतिपूर्ति दिनु पर्ने, घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाउनु पर्ने, बेपत्ताको तत्काल खोजी गर्नुपर्ने लगायतका माग राखेका छन । साथै उनीहरुले तत्काल दोषीमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग पनि गरेका छन ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले पीडितका माग सम्बोधन गर्ने र माग पुरा गर्ने सम्बन्धमा सम्बन्धित निकायमा आवश्यक पहल गरिने आश्वासन दिएका छन । पीडितको मागलाई सम्बोधन गरेपछि मृत्तक तीन जनाको पोष्टमार्टम गरिएको छ ।
प्रहरीले घटनालगत्तै वडाध्यक्ष डम्बर मल्ल, युवतीका बुवा वीरबहादुर मल्ल र आमा प्रकाशी मल्लसहित १५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
३ जनाको शव खोज्दै गोताखोर
शनिबार घटेको रुकुमको चौरजहारी घटनामा बेपत्ताको खोजी गर्न भेरी नदीमा गोताखोरको टोली परिचालन गरिएको छ । घटना भएको ५ दिनसम्म पनि बेपत्ताहरुको कुनै पत्तो नलागेका कारण भेरी नदीमै डुबेको आशंकामा गोताखोरको टोली परिचालन गरिएको छ । खोजीमा सशस्त्र प्रहरीको शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोरको टोली परिचालन गराइएको शसस्त्र प्रहरी बल जाजरकोटका प्रमुख डिएएसपी यज्ञ बस्नेतले बताए ।
अन्तरजातीय प्रेमका कारण जेठ १० गते (शनिबार) मा पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालन गरिएको हो ।
डिएसपी बस्नेतका अनुसार पानीमा डुबेर खोज्न मिल्ने अक्सिजन सहितको पाँच जनाको टोली शमशेरगञ्जबाट झिकाइएको र केही जिल्लाका तालिम प्राप्त जनशक्ति गरि दर्जन बढी शसस्त्र प्रहरीलाई बेपत्ताको खोजीमा बुधवार विहानै देखि भेरीमा परिचालन गरिएको छ ।
जाजरकोटका पव्रमुख जिल्ला अधिकारी जनकराज पन्तका अनुसार स्थानीय, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरुले हराइरहेकाको निरन्तर खोजी गरेर पनि भेटाउन नसकेपछि गोताखोरको टोली बोलाइएको जानकारी दिए ।
हिउँ पग्लिएर नदी धमिलो भएपछी शव खोज्न कठिन
हिउँ पग्लिएर भेरी नदी धमिलो भएकोले पानी भित्र बेपत्ता खोज्न कठिन भएको गोताखोरले जनाएका छन् । घटना भएको पाँच दिन सम्म पनि हराएकाहरु सम्पर्कमा नआएको र कतै नभेटिएपछि भेरी नदीमै डुवेका आशंकामा शसस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोर झिकाएर परिचालन गरिएको थियो । तर नदी धमिलो भएकाले पानी भित्र हेर्न नसकिएका र संकास्पद स्थानमा छामेर खोज्नु परेको गोताखोर टोलीको नेतृत्व गरेर आएका शसस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले बताए । उनले भने ‘हिमालमा हिउँ पग्लिएकाले पानीको बहाव पनि बढेको रहेछ । नदी पनि निकै धमिलो छ । पानी भित्र हेर्न मिल्दैन धमिलो पानीकै कारण खोजी कार्यमा कठिनाई भएको छ ।’ अक्सिजन सहित अत्यावश्यक उपकरण लिएर आएका गोताखोर गहिरो तलाउमा पनि धेरै बेर डुवेर पानी भित्र अड्किएको बस्तु खोज्न सक्छन् तर नदी नै धमिलो हुँदा समस्या भएको उनीहरुको भनाई छ ।
पानीमा डुवेर खोज्न मिल्ने अक्सिजन सहितको पाँच जनाको टोली उताबाट आएको र जिल्लामा तालिम प्राप्त केही जनशक्ति गरि दर्जन बढी शसस्त्र प्रहरी बेपत्ताको खोजीमा बुधवार विहानै देखि भेरीमा परिचालन गरिएको शसस्त्र प्रहरी बल जाजरकोटका प्रमुख यज्ञ बस्नेतले बताए ।
हराएकाको खोजी कार्यमा स्थानिय बासिन्दा, नेपाली सेना ,शसस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु दैनिक जसो संलग्न रहेपनि भेटाउन नसकेपछि गोताखोर बोलाईएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।
जाजरकोट भेरी नगरपालिका वडा नम्बर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् ।
चौतर्फी विरोध हुनुका साथै संसदमा समेत आवाज चर्किएपछि सरकारले गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया