काठमाडौं । ललितपुर महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न स्वाब संकलन भएको छ । महानगरपालीकाले आइतबार २९ वटै वडाका १ सय ४७ जना जनप्रतिनिधिको पीसीआर टेस्टका लागि स्वाब संकलन गरेको हो ।
कोरोना भाइरस संक्रमणको आशंका लागेका मानिसहरुको जाँच गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट १ हजार ५० थान पीसीआर किट उपलब्ध भएपछि महानगरपालिकाले सबै जनप्रतिनिधिको पीसीआर टेस्ट गर्न लागेको हो । यस्तै शनिबार महानगरका सबै स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुको पीसीआर र आरडीटी परीक्षण भएको थियो ।
महानगरपालिकाकी उपमेयर गीता सत्यालले शनिबार स्वास्थ्यकर्मी र सफाईकर्मी गरी १ सय १९ जनाको आरडिटी र २ सय ११ जनाको पीसीआर परीक्षण भएको बताए । महानगरको योजना अनुसार नै सबै जनप्रतिनिधिको पीसीआर प्रविधिबाट परीक्षण गर्न लागिएको उनले बताए ।
उपमेयर सत्यालले जनप्रतिनिधिसँगै, महानगर भित्र कार्यरत पत्रकार, फलफुल व्यवसायी, ग्यास डिलरहरुमा काम गर्ने व्यक्तिहरुको पनि पीसीआर र आरडिटी परीक्षण गर्न लागिएको बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया