नेकपा सचिवालय बैठक सकियो, के भयो निर्णय ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक निष्कर्षविहीन बनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज (बुधबार) साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधव कुमार नेपाललगायतको आ–आफ्नै अडान कायम रहँदा बैठक निष्कर्षबिहीन बनेको हो ।

बैठकमा प्रचण्ड र माधव नेपाललगायतका सचिवालयका अधिकांश सदस्यले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग गरेका थिए भने तत्काल स्थायी समिति बोलाउने विषयमा पनि धारणा राखेका थिए । तर ओली भने राजीनामा नदिने र स्थायी कमिटी पनि नबोलाउने पक्षमा रहेका थिए ।

दुई पक्ष आ–आफ्नै अडानमा टसमस बनेपछि वैशाख २० गते फेरि सचिवालय बैठक बस्नेगरी बुधबारको बैठक सकिएको छ ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको सचिवालयको बैठकमा पार्टीभित्रको आन्तरिक समस्या, पार्टी एकताको महत्व, स्थायी कमिटी बोलाउने र त्यससँग जोडिएका विविध पक्षका बारेमा विचार विमर्श भएको जानकारी दिए ।

आजको बैठकमा ठोस सहमति नजुटेपछि नेताहरुले थप गृहकार्यको गरेर फेरि वैशाख २० मा सचिवालय बैठक बस्नेगरी छलफल टुंगिएको जानकारी दिए ।

यसैबीच सचिवालय बैठकको समाचार संकलनका लागि बालुवाटार पुगेका पत्रकारलाई प्रवेशमा रोक लगाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?