सानेपा बैठक: अपहरण काण्डबाट जनता आक्रोशित रहेको निष्कर्ष, बैठकले गर्‍यो यस्ता ३ निर्णय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा संघीय संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुको बैठक आज सम्पन्न भएको छ।

उक्त बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, डा. प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी आदीको उपस्थिती रहेको थियो। जनता समाजवादी पार्टी, नेपालका तर्फबाट महन्थ ठाकुर, डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, महेन्द्र यादव, शरदसिंह भण्डारी, अशोक राई तथा राजेन्द्र श्रेष्ठको उपस्थिती रहेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट डा. प्रकाशचन्द्र लोहनीको उपस्थितीमा बैठक सम्पन्न भएको हो । सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा. सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएको निस्कर्ष उक्त बैठकले निकालेको छ । साथै बैठकले विभिन्न निर्णयहरु समेत गरेको छ ।

यस्ता छन् बैठकले गरेका निर्णयहरु

१. लोकतान्त्रिक मूल्य र मान्यताहरुलाई कुल्चिदै यो सरकार सर्वसत्तावादतर्फ अग्रसर भएको स्पष्ट छ । हामी यो प्रवृत्तिको घोर भत्र्सना गर्दछौं र यस किसिमको स्वेच्छारी र सर्वसत्तावादी प्रवृत्ति विरुद्ध सम्पूर्ण लोकतन्त्रवादी शक्ति ऐकतावद्ध भई संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

२. सरकारले लोकतान्त्रिक मूल्य र मान्यतालाई तहसनहस गरी अधिनायकवादी उद्देश्य प्राप्तिका लागि सरकारको समेत संलग्नतामा सांसद डा। सुरेन्द्र यादव अपहरण काण्डले नेपाली जनता आक्रोशित भएका छन् । यस्ता अपराधिक कार्यको यो बैठक घोर भत्र्सना गर्दछ र अपराधमा संलग्न व्यक्तिहरुलाई तत्काल कानूनी कार्वाही अगाडि बढाउन माग गर्दछ ।

३. कोरोना भाइरसको संक्रमणको सन्दर्भमा गरिएको लकडाउनको अवधिमा जनताका न्यूनतम आवश्यकता पूर्ति गर्ने तथा नेपाली अर्थतन्त्रमा परेको नकारात्मक प्रभावलाई न्यून गर्न आवश्यक राहत र कुनै ठोस् कार्ययोजना सरकारले दिन सकेको छैन । यस अवस्थामा तत्काल राहत र कार्यक्रमको ठोस योजना प्रस्तुत गर्न माग गर्दछ । साथै, कोरोना भाइरसको यथार्थ स्थिति पत्ता लगाउन आवश्यक टेष्टिङमा भएको असाधारण ढिलासुस्ती समाप्त गरी तिव्रता दिन यो बैठक माग गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?