भजनी । पहिलो चरणमा भारत तथा तेस्रो मुलुकबाट आएका मानिसलाई क्वारेन्टाइनमा राखेर घर पठाइसकेका कैलालीका स्थानीय तहलाई देशभित्रैबाट आउनेहरुलाई क्वारेन्टाइनमा राख्न चुनौती देखिएको छ ।
जिल्ला छाडेर कामको सिलसिलामा देशका विभिन्न जिल्ला पुगेका नागरिक पैदल हिँडेरै गन्तव्यसम्म पुग्न थालेपछि स्थानीय जनप्रतिनिधिलाई तिनको व्यवस्थापन गर्न चुनौती देखिएको हो ।
बाहिरी जिल्लाबाट आएका स्थानीय नागरिकलाई प्रदेश नं ५ र सुदूरपश्चिमको प्रवेशद्वार कर्णाली चिसापानीमा प्रहरीले विशेष निगरानी गर्दै आएको छ ।
जबसम्म सम्बन्धित स्थानीय पालिकाको आधिकारिक व्यक्ति त्यहाँ पुग्दैन वा जनप्रतिनिधिले जिम्मा लिँदैनन्, तबसम्म प्रहरीले कसैलाई पनि छाड्ने गरेको छैन ।
स्थानिय पालिकाले आफ्नामा बसोबास गर्दै आएका नागरिकलाई त्यहाँबाट ल्याएर क्वारेन्टाइनमा राख्ने गरेको छ । क्वारेन्टाइन खचाखच भरिन थालेका छन् । क्वारेन्टाइन भरिन थालेपछि स्वास्थ्य जाँच मात्रै हैन खान र बस्नसमेत समस्या हुन थालेको छ ।
टीकापुर नगरपालिकाले टीकापुर बहुमुखी क्याम्पसलाई पहिलो चरणमा क्वारेन्टाइन बनाए पनि मान्छेको चाप बढेपछि थप चार क्वारेन्टाइन थपेको छ ।
उसले राष्ट्रिय माध्यमिक विद्यालय बेलुवा र कर्णाली माध्यमिक विद्यालय सत्तीमा क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ भने सेतीमैयाँ चौधरी माध्यमिक विद्यालय झुंगा र कर्णाली माध्यमिक विद्यालय टीकापुरलाई तयारी अवस्थामा राखी व्यवस्थापनको काम गरिरहेको छ ।
नगरपालिकाका स्वास्थ्य तथा जनसंख्या प्रबद्र्धन शाखा प्रमुख बलबहादुर रावलका अनुसार नगरपालिकाले हालसम्म ७० जनालाई क्वारेन्टाइनमा राखेर घर फिर्ता पठाइसकेको छ ।
जानकी गाउँपालिकाले पहिलो चरणमा सरस्वती माध्यमिक विद्यालय दुर्गौलीलाई क्वारेन्टाइन बनाएकामा हाल मान्छेको चाप बढेपछि थप दुई क्वारेन्टाइन थपेको छ ।
गाउँपालिका अध्यक्ष प्रदीपकुमार चौधरीले भने, ‘एक दिनमा ३० देखि ३५ जनाका दरले मान्छे थपिएका छन् । व्यवस्थापनमा निकै समस्या भइरहेको छ । हालसम्म ३५ जनालाई क्वारेन्टाइनमा राखेर घर पठाएको छ ।’
लम्कीचुहा नगरपालिकामा हाल १५८ जना क्वारेन्टाइनमा छन् । जोशीपुर गाउँपालिकाले २०३ जनालाई क्वारेन्टाइनमा राखेको छ । गाउँपालिकाले तीन ठाउँमा क्वारेन्टाइन बनाएको बताउँदै गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले गाउँपालिकामा पर्याप्त स्वास्थकर्मी र स्वास्थ्य सामाग्री उपलब्ध नभएका कारण तिनको स्वास्थ परीक्षणमा समस्या हुँदै आएको बताए ।
भजनी नगरपालिकाले १३६ जनालाई क्वारेन्टाइनमा राखेको छ । कैलारी गाउँपालिकामा १७० भन्दा बढी क्वारेन्टाइनमा रहेको बताउँदै गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले दैनिक १० देखि १५ जनाको दरले बढिरहेको बताए।
गौरीगंगा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले पहिलो चरणमा ३० जनालाई क्वारेन्टाइनमा राखेर घर पठाइसकिएको र हाल ३६ जना रहेको बताए।
गोदावरी नगरपालिकामा भने पहिलो चरणको भन्दा क्वारेन्टाइनमा बस्नेको संख्यामा कमी आएको छ ।
चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोका मगरले पहिलो चरणमा क्वारेन्टाइनमा रहेको सात जनालाई घर पठाइएको बताउँदै हाल १० जना रहेको जानकारी दिए।
स्थानीय पालिकाका प्रमुखले यही अवस्था रहे प्रदेश र संघीय सरकारको समन्वय आवश्यक रहने बताए। उनीहरुले प्रदेश सरकारले स्थानीय तहलाई बजेट मात्र पठाएको तर समन्वयको कुरामा एक कल फोनसमेत नभएको गुनासो गर्दै आएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया