काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २४ हजार बढीको कोरोना परीक्षण भएको जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जनाएअनुसार डोल्पा र सोलुखुम्बु बाहेक ७५ जिल्लामा र्यापीड किट टेष्ट (आरडीटी) विधिबाट जाँच भइरहेको छ । डोल्पा र सोलुखुम्बुमा भने चाँडै आरडीटी टेष्ट सुरु हुनेछ ।
हालसम्म नेपालमा दुईओटा प्रविधिबाट जाँच गरिएको छ । सातै प्रदेशका विभिन्न ठाउँमा गरेर १४ स्थानबाट पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण सुरु भएको छ।
पीसीआर घाँटीको स्वाबको परीक्षण हो। यसको नतिजा आउन ६ घण्टादेखि दुई दिनसम्म लाग्ने चिकित्सकले बताएका छन्। आरडीटी परीक्षणको रिपोर्ट भने १५ मिनेटमै सार्वजनिक गर्न सकिन्छ। तर नेपालमा केहि नमूनाहरु र्यापिड डाईग्नोस्टिग टेष्टबाट पोजेटिभ आएको र पीसिआरबाट नेगेटिभ आएको उदाहरणसमेत छन् ।
डाक्टर देवकोटाका अनुसार पिसिआर प्रविधीबाट हालसम्म ७ हजार ६ सय ८८ वटा नमूना जाँच गरिएको छ । त्यस्तै र्यापिड डाईग्नोष्टिग टेष्ट आरडिटीबाट हालसम्म १६ हजार ५ सय ६५ जनाको टेष्ट भएको छ । हालसम्म २४ हजार २ सय ५३ जनाको टेष्ट गरिएको छ । गत २४ घण्टामा मात्रै ४ हजार ८ सय २२ जनाको नयाँ टेष्ट भएको छ ।
हालसम्म ४ हजार ६ सय ७ जना क्वारेन्टाईनमा बसेका छन् भने कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका ९० जना आईसोलेसनमा छन् । उनीहरुमध्ये ५ जना काठमाडौंमा छन् भने ८५ जना बाहिर जिल्लामा छन् । त्यस्तै मन्त्रालयको कल सेन्टरमा हालसम्म २६३२ वटा जिज्ञाशा आएकोमा सम्बोधन गरिएको छ ।
त्यस्तै मन्त्रालयको मोबाईल एप र वेव पेजमा दिइएको जानकारी अनुसार हालसम्म आफ्नो स्वास्थ्यको स्वमूल्यांकनको लागि १८ हजार २ सय ८ जनाले आफ्नो विवरण भरेकोमा हालसम्म २ सय ५१ जना रेड जोनमा परेको छन् ।
गत २४ घण्टामा मात्रै ५७८ जनाले आफ्नो विवरण भरेकोमा जम्मा २ जना रेड जोनमा परेका छन् । यो भनेको संभावितसंक्रमित भएकोले उनीहरुको संम्भावित टेसिङ र विवरण संकलन तथा जाँचका अरु तारतम्य मिलाईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया