धुलिखेलमा आजदेखि कोरोना परीक्षण

काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ ।

सङ्क्रमणको अवस्था अनुकूल परीक्षणको अवधि थपिने अस्पतालका चिकित्सक डा. राजेन्द्र कोजूले बताए। “पर्याप्त पिपीइ परीक्षण किटलगायतका परीक्षण सामग्री व्यवस्थापन गर्दै जाने भएकाले हाललाई हप्ताको दुई दिनमात्रै परीक्षणको समयावधि तोकिएको हो”, उनले भने । उनका अनुसार अस्पतालमा आजबाट कोरोना सङ्क्रमण परीक्षणको तयारी पूरा भईसकेको छ ।

वाग्मती प्रदेश सरकारले कोरोना सङ्क्रमण परीक्षण तथा उपचारका लागि अस्पताललाई धुलिखेल नगरपालिकामार्फत २० लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले उक्त रकम नगरपालिकाको खातामा पठाइसकेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए ।

झाका अनुसार धुलिखेल अस्पतामा कोरोना सङ्क्रमणको परीक्षण शुरु भएपछि छिमेकी जिल्ला सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली तथा भक्तपुरका केही नागरिकलाई सहज हुनेछ ।

यसअघि राजधानी तथा आसपासका जिल्लाका नागरिकको काठमाडौँको टेकूस्थित शुक्रराज सरुवा रोग अस्पतालमा परीक्षण गरिँदै आइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?