बेलायत,जर्मनी र क्यानाडा उड्दै नेपाल एयरलाइन्स

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बेलायत, जर्मनी र क्यानाडामा चार्टर्ड उडान गर्ने भएको छ । विपद्को उडान सारथी बनिरहेको निगमको वाइडबडी जहाजले यसै साता ती गन्तव्यको उडान भर्ने तयारी गरेको हो ।

निगमका अपरेशन विभाग प्रमुख दिपु जहार्चनले लण्डन, फ्राङ्कफर्ट र क्यानाडा उडानको प्रारम्भिक तयारी भइरहेको जानकारी दिए।

“युरोपका मुख्य गन्तव्यमा चार्टर्ड उडानको प्रारम्भिक तयारीमा जुटेका छौँ, अबको सात देखि १० दिनभित्र निगमको वाइडबडी जहाज बेलायत, जर्मनी र क्यानाडा पुग्छन्”, उनले भने ।

निगमको यी गन्तव्यको उडान भने व्यावसायिक नभई चार्टर्ड उडान हो । सम्बन्धित मुलुकले निगमको ‘प्रावधान’ स्वीकारेमा १० दिनभित्र ती मुलुकमा उडान भरिने प्रमुख जुहार्चनको भनाइ छ ।

यी तीनवटै गन्तव्यमा निगमको वाइडबडी जहाजले सिधा उडान गर्नेछन्। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलदेखि लण्डन गन्तव्यमा करिब साढे १२ घण्टाको उडान भर्नुपर्ने हुन्छ ।

वाइडबडीले लण्डनबाट क्याना र जर्मनीको उडान भर्नेछ । निगमले शुरुमा बोइङ ७६७ जहाजमार्फत लण्डन, पेरिस र फ्राङ्फर्ट उडान गरेको थियो ।

जहाज अभावलगायत कारण देखाउँदै बिचमै सेवा रोकेको थियो । निगमले वि.स. १९८८ मा युरोपका गन्तव्यमा उडान भरेको थियो ।

युरोपका ती गन्तव्यमा दुबई भएर उडान गरिन्थ्यो । निगमका पूर्व निर्देशक रामहरी शर्माले निगमले देशलाई अफ्ठयारो परेकाबेला सहयोग गर्नुपर्ने दायित्व भएकाले अहिले आफ्नो भूमिकालाई प्रभावकारी बनाएको बताउँछन् ।

आर्थिक रुपमा कमजोर रहेको निगमको हालको अवस्थालाई सुधारी सवल बनाउन सरकारले पनि यसको अवश्यकता र सान्दर्भिकतालाई बुझेर प्रवर्द्धनमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

निगमले विषम परिस्थितिमा आफ्नो सेवालाई चार्डड उडानकै रुपमा भएपनि गन्तव्य विस्तार गर्दै आफ्नो साखलाई उँचो बनाउन प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ ।

आफ्नो ६० वर्षे उड्डयन इतिहासमा पहिलो पटक वाइडबडीजहाजमार्फत लामा गन्तव्यको उडान भरेर संस्थाको सान्दर्भिकता र औचित्यतालाई पुष्टि गरिसकेको छ ।

सिङ्गो देशवासी मात्र नभई विदेशी नागरिकका लागि पनि निगमका वाइडबडी जाहज विपद्मा सहयोगी बनिरहेका छन् ।

यसअघि निगमले आफ्नो उड्डयन इतिहासमै पहिलो पटक लामो गन्तब्यको अष्ट्रेलियाको शहर ब्रिस्बनमा चार्टर्ड उडान गरेको थियो ।

निगमको वाइडबडी जहाजले चैत १९ मलेसियाको क्वालालम्पुर हुँदै ब्रिस्बनसम्मको करिब १३ घण्टाको उडान यात्रा गरेको थियो । यो उठानलाई निगमले ऐतिहासिक र अद्वितीय उडान भनेको छ । निगमको अष्ट्रेलिया उडानपछि अन्तरराष्ट्रियरुपमा पनि निगमले राम्रै प्रसंशा बोटुलेको छ ।

नेपालस्थित अष्ट्रेलियन दूतावासले निगमको साहसिक उडान कार्यको सराहना गर्दै विशेष धन्यवाद पनि दिएको छ ।

निगमको अपरेशन विभागमार्फ दू्तावासले छोटो समयमै निगमले घोषित कार्यतालिकाभित्रै उडान भरेर आफ्नो विश्वास बढाएको दूतावासले उल्लेख गरेको विभाग प्रमुख जुहार्चनले बताए ।

नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले नेपाल–अष्ट्रेलिया सिधा उडानका लागि चासो जनाउँदै यो उडानले आगामी दिनमा उडान निरन्तरताका लागि योगदान पुग्ने विश्वास दिलाएको उ उनको भनाइ उद्धृत गर्दै प्रमुख जुहार्चनले जानकारी दिए ।

सरकारले अष्ट्रेलिया सिधा उडानका लागि हवाई सम्झौता गरिसकेको छ । छिट्टै यो गन्तव्यमा उडान हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उच्च अधिकारीको विश्वास छ ।

आर्थिक रुपमा निकै जरजर अवस्थाको नेपाल एयरलाइन्सले अघिल्लो वर्ष खरिद गरेका दुई वाइडबढी जहाजले लामो गन्तव्यमा उडान भर्न नसक्दा व्यावसायिक लाभ लिन सकेके थिएन ।

अहिले भोडिभ–१९ को विश्वव्यापी महामारी फैलिरहेको छ । नेपालमा पनि कोभिडको संक्रमण फेला परेपछि सरकारले चैत ११ देखि २५ सम्म देशभर लकडाउन गरेको छ ।

वैशाख ३ गतेसम्म सबै आन्तरिक र अन्तरराष्ट्रिय उडान बन्द गरिएको छ । यस्तो परिस्थितिमा निगमले औषधिजन्य सामग्री ढुवानीका लागि कार्गो उडान तथा विदेशी नागरिकलाई उनीहरुको मुलुकसम्म लैजानका लागि चार्टर्ड उडान गरिरहेको छ ।

यतिखेर निगम सामान्य अवस्थाभन्दा निकै व्यस्त छ । विगत एक सातादेखि नियमितजसो अन्तरराष्ट्रिय गन्तव्यमा चार्टड तथा कार्गो उडान गरिरहेको निगमको वाइडबडी जहाजको व्यस्तता अझै बढेको छ ।

निगमले सातादिनभित्रै श्रीलंकाको कोलम्बो उडान भर्ने तयारी गरेको छ भने अबको १० दिनभित्र युरोपमका महत्वपूर्ण गन्तव्यमा चार्टर्ड उडान गर्ने भएको हो ।

त्यस्तै चीनको ग्वाङ्जाओलगायत गन्तव्यमा पनि उडान भर्ने योजना बनाइएको निगमले उल्लेख गरेको छ । यसअघि निगमको वाइडबडी जहाजले चैत १६ गते र शुक्रवार बिहान दुई चार्टर्ड उडानमार्फत चीनको ग्वाङाओबाट मेडिकल सामग्री ल्याएर फर्किएको थियो ।

हाल दुई वाईडबडी ए–३३० र दुई थान न्यारोबडी ए-३२० सिरिजको जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

निगमको वाइडबडी जहाजले गत फागुन ४ गते कोभिड पहिलो पटक फेला परेको चीनको वुहान शहरबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याएको थियो ।

विं.स. २०६२ को गोरखा भूकम्प र भारतले गरेको नाकाबन्दीका बेला पनि निगमको जहाजले उद्धार उडान र कार्गो उडान गरेको थियो ।

देशका राष्ट्र प्रमुख र कार्यकारी प्रमुखको विशिष्ट भ्रमणमा पनि निगमकै जहाज प्रयोग गरिने गरेको छ ।

त्यसैले विपद्को सारथी बनिरहेको राष्ट्रिय ध्वजाबाहकलाई हालको अवस्थालाई सुधारेर संस्थागत क्षमता विकास र सुदृढिकरण र सवलीकरणका लागि राज्यको ध्यान जान जरुरी छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?