परम्परागत क्वारेन्टाईन र किटाणुशोधन विधि कति वैज्ञानिक ?

महाभारतमा एउटा संवाद छ, को कति सुरक्षित छ ? भन्ने सवालमा ।

विदुर युधिष्ठिरलाई सोध्छन्, “जंगलमा ठूलो डढेलो लाग्यो भने कुनकुन जनावर सुरक्षित रहन्छन् ?” युधिष्ठिरको जवाफ आउँछ, “ठूलो आगलागी भयो भने निडर र स्वतन्त्र भएर घुमफिर गर्ने हात्ती, बाघ, सिंह, एकदमै चलफिर गर्ने मृगजस्ता ठूला भनिएका जनावरहरू आगोमा पोलिने छन् ।

संकटमा दुलाभित्र बस्ने मुसा, सर्पजस्ता साना प्राणी जोगिन्छन् । आगो थामिएपछिमात्र ति बाहिर निस्कन्छन् र शान्तिपूर्ण जीवन बिताउन पाउँछन् ।” अहिले कोरोना भाईरसको महामारीमा अपनाईएको लक डाउनमा पनि यही प्रवृत्ति लागू हुन्छ ।

जो अतिआत्मविश्वास, हठ, हेल्चेक्राँई र घमण्ड गर्दछ, तिनलाई छिटो संक्रमण हुने अवश्यम्भावी छ । जो लक डाउन र क्वारेन्टाईनको नियम पालन गर्छ, ऊ निश्चय नै सुरक्षित रहन्छ ।

अलग रहनु, पवित्रता धारण गर्नु, मानिसको संसर्गमा नजानु, हात नमिलाउनु, अभिवादनका लागि नमस्ते गर्नुजस्ता गतिविधिलाई हामी यतिबेला महामारीबाट मुक्त हुने सबभन्दा भरपर्दो प्रतिरोधात्मक उपचारका रुपमा अमल गरिरहेकोले ‘लक डाउन’ (बन्दाबन्दी) को दिनचर्या बिताईरहेका छौँ ।

रोगब्याधबाट बच्ने प्राचीन जनस्वास्थ्य सम्बन्धी प्रतिरोधात्मक प्रविधिलाई आयुर्वेदले सबभन्दा पहिले प्रतिपादन गरेको तथ्य छ । आधुनिक चिकित्सा विज्ञानले पनि यस प्रविधिलाई विज्ञानसम्मत विधिद्वारा परिमार्जित गरी पालन गरेको हुनाले हामीले अमल गरेको जीवनशैली विज्ञानसम्मत नै हो भन्ने पुष्टि हुन्छ ।

आज बढी नै प्रचलनमा आएका ‘लक डाउन’, ‘क्वारेन्टाईन’, ‘स्यानिटाईजिङ्’, ‘सोसल डिस्टान्सिङ्’, नमस्कारको अभिवादन आदिले यस्तै अर्थ बुझाउँछ । हाम्रो दिनचर्या तथा जीवनशैली हिन्दू संस्कारमा आधारित र त्यो संस्कार आयुर्वेदद्वारा निर्देशित एवं स्वास्थ्यसंहिताबाट अनुप्राणित छ ।

तर हाम्रो जीवनशैलीमा वैज्ञानिकता मासिँदै गयो अन्धविश्वास, जातीयताको हेलाहोचो, छुवाछुत र ढोँग झाँगिदै गयो । तै पनि हेरौँ; उक्त विधिहरूलाई कसरी हामीले शुरू ग¥यौँ तर कसरी हामीले नै विकृत र कलंकित बनायौँ ।

रजश्वला बार्ने क्वारेन्टाईन : हरेक महिना रजश्वला हुने युवा वा प्रौढावस्थाकी महिला, त्यो अवधिभरि उनलाई नछुने, उनले पनि आफ्ना तत्काल उपयोगका वस्तुबाहेक अन्य वस्तु नछुने, अलग सुत्ने–बस्ने, अलग भाँडाकुँडामा खाने, मध्यपश्चिम र सुदूर पश्चिमको समाजमा त घरबाहिर अलगै (छाउपढी) बस्नुपर्ने चलन छ, जो परम्परागत क्वारेन्टाईन हो ।

यसो गर्नुको वैज्ञानिक महत्वलाई पूरै उपेक्षा गरेर धर्म र पापसँग जोडेर यसको पालनालाई अनिवार्य बनाईयो ।

रजश्वलाको मूख्य चारदिनको अवधिमा महिलाको शरीर शिथिल हुने, शारीरिक श्रम बढी भयो भने बढी रक्तस्राब (ब्लिडिङ्) हुने, मानसिक रुपमा पनि त्यो बेला अलि मुड अफ र आक्रामक हुने मानसिकता देखिन्छ । त्यसैले त्यो बेला विश्रामको जरुरत पर्ने भएकोले रजश्वलाको अभ्यास आयुर्वेदले सिकाएको हो । तर क्वारेन्टाईनको वैज्ञानिक स्वास्थ्य चेतनालाई बङ्ग्याएर पूरै धर्मभिरु, अन्धविश्वासी र यावत विकृतीको हत्कण्डा बनाईयो ।

सुत्केरी क्वारेन्टाइन : सुत्केरी महिलालाई पनि २२ दिनसम्म क्वारेन्टाईन र किटाणुशोधन उपायका साथ राख्ने गरिन्छ । गाईगोठमा संक्रामक रोग वा ब्याधीयुक्त कुनै जिवाणु हुँदैनन् भन्ने आयुर्वेदको मान्यतालाई गलत अर्थमा अपनाउने हुँदा मध्यपश्चिम र सुदूरपश्चिमका समाजमा छोराछोरीलाई जन्मदिन सुत्केरीलाई गाईगोठमा राख्ने गरिन्छ । यसैबीच, गाउँमा बिफर, झाडाबान्ता, रुघाखोकी (ईन्फ्लूएन्जा) आदिजस्ता ठूला महामारी चल्दा मध्यपश्चिम र सुदूरपश्चिम समाजका मानिसहरू ‘देवी गाउँ पसिन् ।

त्यसैले जोगिनुपर्छ’ भनी घर छोडेर जंगल पस्छन् । महामारीबाट बच्न क्वारेन्टाईनको अर्थमा यसलाई बुझेको भए वैज्ञानिकता मानिन्थ्यो, तर महामारीमा देवीदेवता देख्ने हुँदा चेतना नै अन्धविश्वासतिर गयो । जसबाट अन्य विकृति, विसंगति र कलंक देखाप-यो ।

भोजनमा क्वारेन्टाइन तथा किटाणुशोधन (डिसइन्फेक्सन) : मानिसको भोजनको समय संवेदनशील क्षण हो । यस्तो बेलामा रोगब्याध र किटाणुबाट बच्न क्वारेन्टाईन र स्टेरिलाईजेशनको विधि अपनाउन आयुर्वेदले सल्लाह दिन्छ । खोपको विकास नभएको र रोगब्याध तथा महामारीको विगविगी भएको पुरानो जमानामा खानेशैलीमा अपनाईने पवित्रता र क्वारेन्टाईन स्वास्थ्यरक्षा र प्रतिरोधात्मक उपचारको अनिवार्य वैज्ञानिक उपायका रुपमा लिईन्थ्यो ।

त्यसैले अघिपछि लगाएका लुगाहरूमा जिवाणु वा किटाणु हुने जोखिमको कारण त्यस्ता लुगा फुकालेर खाने बेलामा मात्र प्रयोग गर्ने विशेष एप्रोनको रुपमा धोती फेर्ने, कसैले आफ्नो भोजन आफैँ बनाउने (स्वयंपाक्य), अघिपछि कुनै अपवित्र चिज नपकाएको र खाना बनाएर खाएपछि अलग ठाउँको प्रदूषणमुक्त पवित्र रातोमाटोले सफासँग पोत्नुपर्ने विशेष चुलोमा पकाउने र खाने चलन चलाईयो । तर कालान्तरमा यो विशुद्ध वैज्ञानिक भोजनविधिलाई जातपात, धर्म, मानिसमा ठूलोसानो हेलाहोचो र भेदभावको अर्थमा विकृत र कलंकित बनाईयो ।

काजकिरियाको क्वारेन्टाईन : आफ्ना दिवंगत प्रियजनको अन्तिम विदाईको संस्कारमा अपनाईने हिन्दु काजकिरिया पनि मूख्यतः क्वारेन्टाईन र किटाणुशोधनको प्रक्रियामा आधारित छ । पवित्र मनका लागि पवित्र शरीर र पवित्र वातावरणमा पवित्रता धारणका साथ गरिएको विधि पितृसमक्ष पुग्छ भन्ने श्रद्धापूर्ण विश्वास हो । यो कुनै जातीपातीको बडप्पन, शान र असमानताका लागि अपनाईएको थियो भन्ने कतैबाट प्रमाणित हुँदैन । बरु जसले पालन गर्नुपर्ने हो उनीहरूको अल्पवुुद्धी वा दुर्वुद्धीले बिगारेको हो ।

अन्त्यमा : गाईको गोबरले घर लिप्नु पुरानो युगको स्टरीलाईजेशन वा डिसइन्फेक्सन (किटाणुशोधन) विधि हो । हरियो घाँस चरेको गाईको गोबर र गहुँतमा किटाणुनाशक तत्व हुन्छ भन्छ आयुर्वेदले । त्यसैले हिन्दू जीवनशैलीमा एकादशी वा पवित्र चाड–पर्वमा गोबर, रातोमाटो आदिले घर लिप–पोत गर्ने, उपवास बसेर आफूलाई रिचार्ज गर्ने जस्ता विधिहरू आज पनि गाउँघरमा जीवितै छन् । यी चाल–चलनमा उपयोगिता खोज्ने हो भने वैज्ञानिक आधार भेटिन्छ । तर अन्धविश्वास, विकृति र कलंकपूर्ण नियतले प्रचलन ग-यो भने विकृत नै हुन्छ ।

भनिन्छ, सेवन गर्न जान्यो भने विष पनि औषधी हुन्छ, गलत सेवन भयो भने औषधी नै विष बनेर बिनाश गर्दछ । अभ्यास, सेवन र उपयोगिताबोधमा नै यस्ता प्रचलनहरूको उपयोगिता भर पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?