संसदीय सुनुवाई समितिमा मनोजकुमार शर्मा– ‘नेपोबेबी थाहा छैन, क्षमताले यहाँसम्म आएँ’

लोकपथ
0
Shares

काठमाडौं । डा. मनोजकुमार शर्माले आफू योग्यता र क्षमता भएकै कारण सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि सिफारिस भएको दाबी गरेका छन् ।

आज सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा शर्माले सो दाबी गरेका हुन् ।

उनले संवैधानिक परिषद्ले आफूलाई प्रधानन्यायाधीशमा गरेको सिफारिस कानुनसम्मत रहेको समेत दाबी गरे । साथै प्रधानन्यायाधीश नियुक्तिका लागि वरिष्ठताको मापदण्ड त्यति बलियो नहुने समेत उनको दाबी छ ।

‘प्रधानन्यायाधीशको नियुक्तिलाई बढुवाको रूपमा नलिइकन नियुक्तिको रूपमा लिनुपर्छ । यसमा वरिष्ठताको मापदण्ड बलियो आधार हुन्छ जस्तो लाग्दैन,’ उनले भने, ‘संवैधानिक परिषदबाट प्रक्रिया पूरा गरेर निर्णय भएकोमा मैले बढी केही बोलिरहनुपर्छ जस्तो लागेको छैन ।’

त्यस्तै पूर्वप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माका भतिजा समेत रहेका शर्मालाई नेपोबेबी भन्दै प्रश्न उठाइएको थियो । तर उनले आफू योग्यता पुर्‍याएर नै प्रधानन्यायाधीशका लागि सिफारिस भएको बताए ।

‘नेपोबेबी भन्ने विषयलाई कसरी लिने मलाई थाहा छैन । योग्यता र क्षमताले एउटा अवधि पूरा गरेर पुनरावेदन अदालतमा न्यायाधीश नियुक्त भएको हुँ । त्यहाँ कार्यसम्पादन सम्पन्न गरेर संविधानले पद रिक्त गरेपछि पुनः कानून व्यवसायमा फर्किएँ । र पुनः नियुक्ति पाएर सर्वोच्च आएको हो,’ उनले भनेका छन् ।

संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि शर्माको नाम सिफारिस गरेसँगै उनीविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीका आधारमा उनीमाथि आज संसदीय सुनुवाई भएको हो ।

यो पनि…

न्यायपालिकाको ‘स्थापित नजिर भत्काउनै चाहेको’ हो ?

प्रधानन्यायाधीशमा मनोजकुमार शर्माको नाम सिफारिस

को हुन् प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्मा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?