काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद ईन्जिनियर मोहन आचार्यले वर्तमान सरकारसँग आम नागरिकको ठूलो आशा रहेको बताउँदै सोही अनुसार काम गर्न सुझाव दिएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका शिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै सांसद आचार्यले सरकारको राम्रो काममा प्रतिपक्षी दलको हैसियतमा कांग्रेसले सधैँ सहयोग गर्ने बताए ।
संविधान बनेपछि पहिलोपटक स्पष्ट बहुमत र झण्डै दुई तिहाइको सरकार गठन भएको भन्दै सहज अवस्थाको सरकारले समय खेर नफाल्न समेत सुझाव दिए ।
उनले भने, ‘संविधान बनेपछिको पहिलो झण्डै दुई तिहाइको स्ष्पट बहुमतसहितको सरकार बनेको छ । त्यसकारण पनि सरकारको जिम्मेवारी र जनताको आशा हुनु स्वभाविक छ । मुलुकको राजनीतिक स्थिरता, नीतिगत स्पष्टता, रुपान्तकरणकारी सुधार, सार्वजनिक सेवामा सुधार, अर्थतन्त्रमा सुधार सुशासनलगायतको क्षेत्रमा सरकारले गर्ने राम्रो काममा हाम्रो (नेपाली काग्रेस)को साथ रहनेछ ।’
सांसद आचार्यले अर्थमन्त्रीले सार्वजनिक गरेको विनियोजन विधेयक २०८३ को प्रशंसा पनि गरेका छन् ।
‘अर्थमन्त्री ज्युले संसदमा पेस गर्नुभएको विनियोजन विधेयक २०८३ को पाँच पाँच बुँदाको सिद्धान्त र प्राथमिकताको समग्र क्षेत्रलाई समेटेर प्रस्तुत गर्नुभएको छ । उपभोगका आधारित अर्थतन्त्रलाई लगानी र उत्पादनमुखी अर्थतन्त्रमा रुपान्तरण गर्ने कर प्रणालीलाई सरल न्यायोचित बनाउँदै उत्पादन र नवप्रवर्द्धनलाई जोड्ने कृषि क्षेत्रलाई आर्थिक रुपान्तरणको सम्वाहकको रुपमा अघि बढाउने, थोरैले धेरै सेवा दिने, आधुनिक प्रसाशनिक निर्माण गर्ने, लगानी एक्प्रेस नीति मार्फत उद्योग लगानी र पूर्वाधारको परियोजनाको स्वीकृती तथा कार्यान्वयन प्रक्रियालाई सरल र समय सापेक्ष बनाउने जस्ता महत्वपूर्ण विषयहरु समेटिएका छन् । बजेटमार्फत यसको सफल कार्यकालको लागि शुभकामना व्यत्त गर्दछु,’ उनले भने ।
यस्तै सांसद आचार्यले मध्यपूर्व तनावका कारण नेपाली जनजीवनमा परेको असरबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले विनियोजन विधेयकमा कर्णाली, मधेश र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राखेको भन्दै धन्यवाद ज्ञापन गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया