महादेवटार सुरुङको ब्रेक थ्रुपछि राष्ट्रपति पौडेलले के भने?

लोकपथ
0
Shares

बागमती । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाले राष्ट्रिय सुरक्षा र संवैधानिक दायित्व निर्वाहसँगै सडक पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताएका छन् ।

काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवका आयोजना तथा विशेष प्रकृतिका सुरुङ र पुल निर्माणमा नेपाली सेना निरन्तर क्रियाशील रहेको बताए ।

उनले विकट भौगोलिक अवस्था, जटिल भू-बनोट र प्रतिकूल परिस्थितिका बाबजुद राष्ट्रिय महत्वका सडक तथा पूर्वाधार निर्माणमा सेनाले देखाउँदै आएको व्यावसायिक दक्षता, कार्यकुशलता र राष्ट्रप्रतिको समर्पण प्रशंसनीय रहेको उल्लेख गरे ।

राष्ट्रपति पौडेलले काठमाडौं उपत्यकालाई तराई/मधेससँग प्रत्यक्ष जोड्ने करिब ७१ किलोमिटर लामो अत्याधुनिक प्रविधिमा आधारित द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे ।

उनका अनुसार द्रुतमार्ग सञ्चालनमा आएपछि यात्रा समय र दूरी उल्लेखनीय रूपमा घट्नेछ । यसबाट इन्धन खपत, सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चमा समेत बचत हुनेछ । साथै, राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै देशको आर्थिक तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।

राष्ट्रपति पौडेलले द्रुतमार्गको महत्व भौतिक पूर्वाधार निर्माणमा मात्र सीमित नरहेको उल्लेख गर्दै राजधानी काठमाडौं र तराई/मधेसबीचको दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकता सुदृढ बनाउन सहयोग पुग्ने बताए ।

उनले पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण, क्षेत्रीय आर्थिक गतिविधिको विस्तार र दिगो विकासका लक्ष्य प्राप्तिमा समेत आयोजनाले दूरगामी योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

आयोजना समयमै सम्पन्न गर्न प्रभावकारी समन्वय र जिम्मेवारीपूर्ण प्रतिबद्धता आवश्यक रहेको बताउँदै उनले निर्माण कार्यमा सेनालाई सबै पक्षबाट सहयोग हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि चीनका राजदूत चाङ माओमिङ, कोरियाका राजदूत पार्क जे क्यूङ तथा प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?