निर्जीवन बिमा कम्पनीहरूको घाटा १ अर्ब २७ करोड, राष्ट्रिय बिमा कम्पनी सर्वाधिक नाफामा

लोकपथ
0
Shares

काठमाडौं । चालू आर्थिक वर्ष २०८३–८४ को पहिलो तीन महिनामा अधिकांश निर्जीवन बिमा कम्पनीको वित्तीय अवस्था कमजोर देखिएको छ । असोज मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका १४ कम्पनीमध्ये ८ कम्पनी घाटामा रहेका छन् । समग्रमा यी कम्पनीहरूको खुद घाटा १ अर्ब २७ करोड ४६ लाख रुपैयाँ पुगेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा १४ निर्जीवन बिमा कम्पनीको कुल खुद घाटा १ अर्ब ७३ करोड ७७ लाख ७६ हजार रुपैयाँ रहेको थियो । यस आधारमा चालू आवको पहिलो त्रैमासमा कम्पनीहरूको समग्र घाटा केही घटेको देखिन्छ ।

सार्वजनिक वित्तीय विवरणअनुसार सरकारी स्वामित्वको राष्ट्रिय बिमा कम्पनी नाफा आर्जन गर्ने कम्पनीमध्ये पहिलो स्थानमा रहेको छ । कम्पनीले असोजसम्म २८ करोड ३० लाख २० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ९ करोड ९५ लाख ९ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले यसपटक उल्लेख्य वित्तीय सुधार गरेको हो ।

नाफाका आधारमा प्रभु इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ । कम्पनीले समीक्षा अवधिमा ६ करोड ६८ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको प्रभुको नाफा ५।८० प्रतिशतले वृद्धि भएको हो ।

त्यस्तै, गत वर्ष ठूलो घाटा व्यहोरेको शिखर इन्स्योरेन्स यस वर्ष नाफामा फर्किएको छ ।

अघिल्लो वर्ष असोजसम्म १५ करोड ८५ लाख ८६ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले चालू आवको सोही अवधिमा ४ करोड ११ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यसैगरी एनएलजी इन्स्योरेन्सले ३ करोड ५३ लाख ४३ हजार रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ३ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

यता नेशनल इन्स्योरेन्सको नाफामा भने उल्लेख्य गिरावट आएको छ । गत वर्षको असोजसम्म ३ करोड ८१ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा चालू आवको सोही अवधिमा घटेर ७ लाख १ हजार रुपैयाँमा सीमित भएको छ ।

८ कम्पनी घाटामा, हिमालयन एभरेष्टको अवस्था सबैभन्दा कमजोर

समीक्षा अवधिमा १४ मध्ये ८ निर्जीवन बिमा कम्पनीले खुद घाटा व्यहोरेका छन्। घाटामा रहेका कम्पनीमध्ये सबैभन्दा कमजोर वित्तीय नतिजा हिमालयन एभरेष्ट इन्स्योरेन्सको देखिएको छ ।

गत आर्थिक वर्षको पहिलो तीन महिनामा १० करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनी चालू आवको असोजसम्म आइपुग्दा ४० करोड ११ लाख रुपैयाँ घाटामा पुगेको छ ।

त्यस्तै, द ओरियन्टल इन्स्योरेन्स ३२ करोड ६० लाख ९१ हजार रुपैयाँ घाटामा रहेको छ । सानिमा जिआईसी इन्स्योरेन्सको खुद घाटा २९ करोड ३७ लाख ७६ हजार रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा २० करोड २ लाख ३ हजार रुपैयाँ घाटामा रहेको कम्पनीको घाटा थप बढेको हो ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २० करोड ९८ लाख ३२ हजार रुपैयाँ, नेपाल इन्स्योरेन्सले २० करोड ४७ लाख २ हजार रुपैयाँ र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १६ करोड १५ लाख ५६ हजार रुपैयाँ खुद घाटा व्यहोरेका छन् ।

यसैगरी नेको इन्स्योरेन्स ८ करोड १८ लाख ७१ हजार रुपैयाँ तथा युनाइटेड अजोड इन्स्योरेन्स ५ करोड २९ लाख ८४ हजार रुपैयाँ घाटामा रहेका छन् । समग्र तथ्यांकले केही कम्पनी नाफामा फर्किए पनि निर्जीवन बिमा क्षेत्रमा अझै ठूलो संख्यामा कम्पनीले घाटा व्यहोर्नुपरेको देखाएको छ ।

विशेषगरी हिमालयन एभरेष्ट र सानिमा जिआईसीको घाटा बढ्नु तथा केही कम्पनीको नाफा उल्लेख्य रूपमा घट्नुले क्षेत्रको वित्तीय अवस्थाबारे चासो बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?