काठमाडौं । कास्की जिल्ला अदालतले पोखराको इमेज बचत तथा ऋण सहकारी संस्थाको बचत रकम ठगी गर्ने उक्त सहकारीका तत्कालीन संस्थापक अध्यक्ष देवकुमार नेपालीसहित सात जनालाई कैद र जरिवानाको फैसला गरेको छ ।
अदालतका शाखा अधिकृत तारानाथ पोखरेलका अनुसार संस्थापक अध्यक्ष नेपालीलाई आठ वर्ष कैद सजाय र एक करोड २६ लाख २३ हजार जरिवाना तोकिएको छ । त्यस्तै सहकारीका सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष कैद र एक करोड २६ लाख २३ हजार जरिवानाको फैसला भएको उहाँले जानकारी दिए ।
अर्का प्रतिवादी निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद सजाय र २६ लाख २३ हजार जरिवाना तोकिएको शाखा अधिकृत पोखरेलले बताए । जरिवानासँगै १८ करोड ९६ लाख ५९ हजार बिगो माग भएको उहाँको भनाइ छ । न्यायाधीश चन्द्रप्रकाश तिवारीको एकल इजलासले गत कात्तिक १७ उक्त फैसला गरेको र फैसलाको पूर्णपाठ आउन बाँकी रहेको उनले बताए ।
बचतकर्ताहरुले सहकारीका संस्थापक अध्यक्ष नेपालीलगायत १५ जना विरुद्ध गतवर्ष दायर गरेको अभियोगमाथि सुनुवाई गर्दै अदालतले उक्त फैसला गरेको हो । विसं २०७९ को स्थानीय तह निर्वाचनमा बागलुङको ढोरपाटन नगरपालिकाको प्रमुखमा निर्वाचित नेपाली बागलुङमा रहेको सोही नामको सहकारी ठगी प्रकरणमा विसं २०८१ असोजदेखि पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा रहेका छन् ।
उनीमाथि पोखरा र बागलुङमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको अर्बौँ रुपैयाँ हिनामिना पारेको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया