चितवन । चितवनमा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना र मानवीय क्षतिमा कमी आएको छ । तर, ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही र जरिवाना सङ्कलन भने बढेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा गत आर्थिक वर्षको तुलनामा सडक दुर्घटनामा कमी आएको हो ।
कार्यालयका प्रमुख अनिल थापाका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा घटस्थापनादेखि कात्तिक २४ गतेसम्म ६६ वटा सडक दुर्घटना भएका थिए । ती दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो भने ११७ जना घाइते भएका थिए ।
चालु आर्थिक वर्षमा असोज २५ देखि कात्तिक २६ गतेसम्म ३४ वटा सडक दुर्घटना भएका छन् । ती दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने १०१ जना घाइते भएका छन् ।
यस अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथिको कारबाही भने बढेको छ । गत आर्थिक वर्षमा एक हजार ३५ वटा सवारीसाधन कारबाहीमा पर्दा नौ लाख २४ हजार ५३१ रुपैयाँ जरिवाना सङ्कलन भएको थियो ।
चालु आर्थिक वर्षमा कारबाहीमा पर्ने सवारीसाधनको सङ्ख्या बढेर एक हजार ८६१ पुगेको छ । ती सवारीसाधनबाट १७ लाख ७२ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
यद्यपि, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथिको कारबाही भने घटेको छ । गत आर्थिक वर्षमा ६९ वटा कारबाहीबाट ३७ हजार रुपैयाँ जरिवाना सङ्कलन भएकामा चालु आर्थिक वर्षमा ५६ वटा कारबाहीबाट ३० हजार रुपैयाँ सङ्कलन भएको छ ।
त्यस्तै, लागू पदार्थ सेवन गरी सवारी चलाउनेमाथि गत आर्थिक वर्षमा कुनै कारबाही नभएकोमा यस वर्ष २४ वटा कारबाही भएका छन् ।
ट्राफिक प्रहरी प्रमुख थापाले चाडपर्वलाई लक्षित गरी गरिएको कडा चेकजाँच, नियम उल्लङ्घन गर्नेमाथिको कारबाही र जनचेतनामूलक कार्यक्रमका कारण दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको बताए ।
उनले चाडपर्वमा मात्र नभई अन्य समयमा पनि सवारी नियमको पूर्ण पालना गर्न आग्रह गरे । तीव्र गतिमा सवारी नचलाउन र मादक पदार्थ सेवन गरेर सवारी नचलाउन आग्रह गर्दै उनले सुरक्षित यात्रालाई प्राथमिकता दिन चालक तथा यात्रुलाई अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?














प्रतिक्रिया