विधिपूर्वक गरियो गोबर्धन पूजा

लोकपथ
0
Shares

काठमाडौं । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज गोबर्धन पूजा गरिएको छ ।

आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोबर्धन पर्वत मानी पूजा गरिएको हो । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोबर्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोबर्धन पर्वतको पूजा गर्ने चलन छ ।

कार्तिक शुक्ल प्रतिपदाका दिन यो पर्व मनाइन्छ । गोबर्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष सह प्रा डा पुरुषोत्तम भट्टराईले जानकारी दिए । त्यसैकारण गोबर्धन पूजा आज गरिएको हो ।

गरियो बली, हलि एवम् गोरु पूजा

भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिएको छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले हामी त्यसै आएनौँ बली राजाले पठाए भनेर भट्याउने चलन चलेको हो ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिइएको छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवं अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइएको छ । यसैले आजको दिनलाई हली तिहार पनि भन्ने गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?