विपदमा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन संशोधन हुँदै

लोकपथ
28
Shares

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विपद्मा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा तथा मृत्यु दर्तासम्बन्धी कानुनी व्यवस्था संशोधनको तयारी भइरहेको बताएकी छन् ।

सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री गौतमले अध्यादेशमार्फत मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

संसद्को नियमित अधिवेशन अन्त्य भएकाले आवश्यक कानुनी व्यवस्था छिटो अघि बढाउन अध्यादेशमार्फत प्रक्रिया अघि बढाउने तयारी गरिएको उनले बताइन् । उनका अनुसार मृत्यु घोषणा तथा मृत्यु दर्तासम्बन्धी कानुन संशोधनका लागि मन्त्रालयले आवश्यक खाका समेत तयार गरिसकेको छ ।

मन्त्री गौतमले विपद्का घटनामा बेपत्ता भएका व्यक्तिको मृत्यु घोषणा र मृत्यु दर्ताको प्रक्रिया सहज बनाउन कानुनी व्यवस्था आवश्यक रहेको बताइन् । यस विषयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) सँग निरन्तर छलफल भइरहेको र समाधानको खाका तयार भइसकेको उनको भनाइ छ ।

उनले नियमित संसदीय प्रक्रियाबाट कानुन संशोधन गर्दा समय लाग्न सक्ने भएकाले अहिले अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद्सम्बन्धी कानुनमा आवश्यक व्यवस्था गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

‘अहिले मृत्यु घोषणाको सवालमा मृत्यु दर्ता गर्नुपर्ने अवस्था छ । मृत्यु घोषणा कसरी गर्ने भन्ने प्रक्रियाका विषयमा पनि हामीले एनडीआरआरएमएसँग निरन्तर छलफल गरिरहेका छौँ । त्यसमा अहिले एउटा समाधान निस्किसकेको छ,’ उनले भनिन् ।

मन्त्री गौतमका अनुसार सरकारले अब कानुन निर्माण गर्दा विपद्लाई पनि केन्द्रमा राख्नुपर्ने आवश्यकता देखिएको छ । विपद् व्यवस्थापन बहुआयामिक विषय भएकाले विभिन्न मन्त्रालयसँग समन्वय गरेर आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने उनले बताइन् ।

मौसम पूर्वानुमान, राहत प्याकेज, उद्योगी–व्यवसायीलाई सहजीकरण तथा विपद्मा अभिभावक गुमाएका बालबालिकाको संरक्षणलगायत विषयमा सम्बन्धित मन्त्रालयसँग समन्वय भइरहेको उनले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?