बाढी–पहिरोबाट पूर्वाधारमा २ खर्ब २७ अर्बको क्षति, पुनर्निर्माणका लागि ६३ अर्ब आवश्यक

लोकपथ
35
Shares
त्रिशूली नदीमा आएको बाढी

काठमाडौं । पछिल्लो बाढी, पहिरो तथा जलवायुजन्य विपद्का कारण मुलुकका पूर्वाधार संरचनामा प्रारम्भिक रूपमा २ खर्ब २७ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको छ ।

पूर्वाधार विकास मन्त्रालयका सचिव पद्यकुमार मैनालीले सिंहदरबारमा आयोजित हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा यस्तो जानकारी दिएका हुन् ।

उनका अनुसार विपद्का कारण सबैभन्दा बढी क्षति आवास क्षेत्रमा भएको छ । ७ हजार ५७० निजी र ४८ वटा सार्वजनिक भवनमा गरी १ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।

त्यस्तै, सडक सञ्जालमा २० अर्ब, मोटरेबल पुलमा १३ अर्ब ८० करोड, झोलुङ्गे पुलमा २ अर्ब ६५ करोड तथा खानेपानी र सरसफाइ क्षेत्रमा ८७ अर्ब ८७ करोड रुपैयाँ बराबरको क्षति पुगेको मन्त्रालयको प्रारम्भिक मूल्याङ्कन छ ।

सचिव मैनालीले यो प्रारम्भिक तथ्यांक रहेको र विस्तृत मूल्याङ्कनपछि क्षतिको यकिन विवरण आउने बताए । उनले कुल क्षति करिब १।४८ अर्ब अमेरिकी डलर अर्थात् २ खर्ब २७ अर्ब रुपैयाँ पुगेको भन्दै जलवायु न्यायअन्तर्गत प्राप्त हुने वैदेशिक सहायता र त्यसको आवश्यकतामाथि गम्भीर प्रश्न उठेको बताए ।

उनका अनुसार क्षतिग्रस्त २० झोलुङ्गे पुलमध्ये १२ वटाको मर्मत सम्पन्न भइसकेको छ । बेत्रावती क्षेत्रमा बेलिब्रिज निर्माण भइरहेको छ भने धुन्चे, स्याफ्रुबेसी हुँदै रसुवागढीसम्म सडक सम्पर्क पुनःस्थापित गर्ने काम अघि बढाइएको छ ।

मैनालीले विपद्पछि कनेक्टिभिटी पुनःस्थापनालाई प्राथमिकतामा राखेर मन्त्रालयले काम गरिरहेको बताए । त्रिशूली करिडोरमा अवरुद्ध सडक तथा बेलिब्रिज निर्माणलाई समेत प्राथमिकताका साथ अघि बढाइएको उनको भनाइ छ ।

यस्तै, आगामी दशैँअघि नै पीडितका लागि करिब ३०० वटा ट्रान्जिसनल सेल्टर अर्थात् अस्थायी आवास निर्माण गर्ने गरी तयारी भइरहेको उनले जानकारी दिए । पुनर्स्थापनाका लागि आवश्यक जग्गा पहिचान भइसकेको र सेल्टरको डिजाइन तथा निर्माणको तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

मैनालीका अनुसार विपद् प्रतिकार्य, पुनःस्थापना तथा पुनर्निर्माणको प्रारम्भिक चरणका लागि सरकारले करिब ६३ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको छ । क्षतिको ठूलो आकारलाई ध्यानमा राख्दै राहत तथा पुनर्निर्माणलाई दीर्घकालीन योजनासहित अघि बढाउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?