काठमाडौं । नेपाली कांग्रेसका युवा नेता निश्कल राईले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसका सांसद एवं संसदीय दलका सचेतक समेत रहेका राईले १५औँ महाधिवेशनमा खुल्लातर्फ प्रतिष्पर्धा गर्न लागेका हुन् ।
कांग्रेसको संशोधित विधान अनुसार खुल्लातर्फको केन्द्रीय सदस्यमा ४५ जना अटाउनेछन् ।
लामो समय नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा काम गरेका नेता राई गत निर्वाचनमा इलाम क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
फागुन २१ को निर्वाचनमार्फत् संसदीय राजनीतिमा डेब्यू गरेका राईले कांग्रेस देशभर पराजित हुँदा जित जोगाउन सफल भए ।
राई तीनै नेता हुन् जसले २०५६ सालपछि इलाममा कांग्रेसको विरासत फर्काउन सफल भए ।
पूरानो राजनीतिक इतिहास बोकेको पार्टी कांग्रेस युवामैत्री बन्दै गरेको र त्यसको प्रतिनिधि आवाज बन्न केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले बताए ।
‘कांग्रेस पूरानो राजनीतिक इतिहास बोकेको पार्टी हो । तर पछिल्लो समय युवामैत्री बन्दै गइरहेको कांग्रेसमा आम युवाहरुको प्रतिनिधि आवाज बन्न मेरो उम्मेदवारी रहन्छ,’ नेता राईले भने ।
राजनीति सँगसँगै केही समय प्राध्यापन समेत गरेका राई वैचारिक नेताका रुपमा समेत परिचित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया