लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन् : रवि लामिछाने

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्रमा कुनै खतरा नरहेको बताएका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले पुराना दलहरूलाई लक्षित गर्दै लोकतन्त्रको धेरै दुहाइ नदिन आग्रह गरे । लोकतन्त्रको रक्षा आफूहरूले मात्रै गर्ने भन्दै ठेक्का नलिन उनको आग्रह थियो ।

‘लोकतन्त्रको रक्षा हामीले नै गर्छौँ भनेर पुरै ठेक्कापट्टा लिने काम नगर्नुहोस् । लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन् । जनताले जोगाउँछन्। तर लोकतन्त्रको नाममा हामीले विधि स्थापना गर्छौँ,’ उनले भने ।

लामिछानेले सरकार ढाल्ने भन्दै आन्दोलनको चेतावनी नदिन पनि आग्रह गरे। उनले वर्तमान सरकार नढल्ने दाबी गर्दै सरकार ढल्छ भन्दै हिँड्नेहरू नै ढल्न सक्ने टिप्पणी गरे ।

पछिल्लो समय नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध आन्दोलन गर्ने बताइरहेका छन् । त्यसतर्फ संकेत गर्दै लामिछानेले आन्दोलनबाट सरकार ढाल्ने प्रयास नगर्न आग्रह गरे ।

‘आन्दोलनले सरकार ढाल्छौँ, आँधीबेहरीको कुरा पनि सुनिरहेको छु । आन्दोलनबाट सरकार ढाल्ने तिर अब नलागौँ । अब चुनावबाट मात्रै सरकार फेरौँ । चुनावले सरकार फेराउँछ,’ उनले भने ।

लोकतन्त्रलाई निर्वाचन र निर्वाचनको अभ्यासबाट मात्रै समृद्ध बनाउन सकिने लामिछानेले बताए। उनले जनताले दिएको अपार मतको सम्मान गर्न पनि राजनीतिक दलहरूलाई चेतावनी दिए ।

‘जनताले दिएको अपार मतलाई अपमान नगर्नुहोस्,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?