काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका पालिकामा अभियान सञ्चालन गर्ने भएको छ ।
संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि रास्वपाका प्रतिनिधिसभा सदस्य र केन्द्रीय सदस्यहरू ७७ जिल्लाका ७५३ वटै पालिकामा पुग्ने भएका हुन् ।
रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार अभियानमा नागरिकका कुरा सुन्नुका साथै पार्टीका योजना र आगामी कार्यक्रमबारे पनि जानकारी दिइनेछ ।
उनका अनुसार पालिका केन्द्रित अभियानका मुख्य दुई उद्देश्य छन् । पहिलो, स्थानीय तहको कामकारबाही र आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोट गर्ने प्रक्रिया नागरिकलाई जानकारी गराउनु हो । दोस्रो, वर्तमान सरकार गठन भएपछि करिब ६ महिनामा संसद् र सरकारमार्फत भएका काम तथा नीतिगत पहलका बारेमा जानकारी दिनु हो ।
डाँगीले आगामी फागुनमा हुने स्थानीय तहको निर्वाचनमा सक्षम, इमानदार र नेतृत्व गर्न तयार व्यक्तिलाई कसरी उम्मेदवार बनाउने भन्ने विषयमा नागरिकलाई जानकारी गराइने बताएकी छन् ।
रास्वपाले यसअघि नै उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ र लोकतान्त्रिक छनोट प्रक्रियाको अवधारणा अघि सारेको छ ।
रास्वपाले सरकार गठन भएको करिब ६ महिनाको अवधिमा भएका काम, नीतिगत पहल, नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्था र आगामी योजनाबारे पनि अभियानमार्फत जानकारी दिने जनाएको छ ।
सहमहामन्त्री डाँगीका अनुसार अभियानमा पार्टीका सांसद र केन्द्रीय सदस्यहरू असोज २० गतेदेखि देशभरका ७५३ वटै पालिकामा पुग्नेछन् ।
रास्वपाले यो अभियानलाई चुनावी तयारीसँगै स्थानीय सरकारलाई जवाफदेही बनाउने र नागरिकको सहभागितामा स्थानीय नेतृत्व छनोट गर्ने अभ्यासका रूपमा अघि बढाउने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया