पुँजी बजार सुधारका लागि बोर्डको तीन चरणको रणनीति, ब्रोकरदेखि नेप्सेसम्म सुधार

लोकपथ
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारको समग्र विकासका लागि प्राथमिक र दोस्रो बजारलाई समेटेर तीन चरणको सुधार रणनीति अघि बढाएको छ ।

बोर्डका अध्यक्ष डा.गोपालप्रसाद भट्टले संसदीय समितिको बैठकमा बजारका सहभागी तथा सरोकारवालाको सहभागितामा नीतिगत सुधार, पूर्वाधार विकास र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिइएको जानकारी दिएका हुन् ।

बोर्डले प्राथमिक र दोस्रो बजार सुधारका लागि छुट्टाछुट्टै समिति गठन गरेको छ । समितिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ, नेपाल उद्योग वाणिज्य महासंघ र मर्चेन्ट बैंकर्स एसोसिएसनका प्रतिनिधि सहभागी छन् ।

सुधार प्रक्रियालाई पारदर्शी बनाउन बोर्डले पहिलो चरणमा कन्सेप्ट पेपर तयार गर्ने, त्यसपछि सम्बन्धित समितिमार्फत छलफल गर्ने, सार्वजनिक परामर्शबाट सुझाव लिने र अन्तिममा नीति कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ ।

प्राथमिक बजार सुधारअन्तर्गत आईपीओ निष्कासन, मूल्य निर्धारण (प्राइस डिस्कभरी), योग्य संस्थागत लगानीकर्ता, सेयर बाँडफाँट र म्युचुअल फन्डलगायतका विषयमा सुधारका नीति तयार भइसकेका छन् । ती नीतिहरू क्रमशः कार्यान्वयनमा लैजाने बोर्डको तयारी छ ।

दोस्रो बजारतर्फ भने ब्रोकर व्यवसायको पुनर्संरचनालाई बोर्डले प्राथमिकतामा राखेको छ । ब्रोकर व्यवसायलाई पारिवारिक प्रकृतिको सीमित व्यवसायबाट माथि उठाएर व्यवस्थित तथा औद्योगिक मोडलमा विकास गर्ने नीति बोर्डले अघि सारेको छ ।

अब ब्रोकर कम्पनीलाई कार्यक्षमता र सेवाका आधारमा चार श्रेणीमा विभाजन गरी स्टक डिलरसिपसहितको वृहत संरचनामा लैजाने योजना रहेको अध्यक्ष भट्टले बताए ।

‘प्राथमिक र दोस्रो बजार सुधारका लागि धितोपत्र बोर्डले छुट्टाछुट्टै सुधार समिति गठन गरी काम अघि बढाएको छ,’ उनले भने, ‘सुधारका नीतिहरू तयार गर्दा सम्बन्धित बजार सहभागी र सरोकारवालाको सहभागिता सुनिश्चित गर्दै सार्वजनिक परामर्शमार्फत सुझाव लिने व्यवस्था गरिएको छ ।’

त्यसैगरी, दोस्रो बजारको प्रमुख पूर्वाधारका रूपमा रहेको नेप्सेको सुधारलाई पनि बोर्डले प्राथमिकतामा राखेको छ । नेप्सेको ट्रेडिङ तथा अर्डर व्यवस्थापन, साइबर सुरक्षा र सूचना प्रविधि प्रणालीमा देखिएका कमजोरी सुधारका लागि नियामकीय व्यवस्था तयार पारिएको बोर्डले जनाएको छ ।

सरकारी स्वामित्वका संस्थाबीचको समन्वय अभाव तथा क्षेत्राधिकारसम्बन्धी समस्या समाधान गर्दै नेप्सेको प्रणाली सुधारका लागि करिब ३१–३२ वटा नयाँ नियामकीय व्यवस्था तयार पारिएको अध्यक्ष भट्टले बताए । ती व्यवस्था क्रमशः जारी गरी कार्यान्वयनमा लैजाने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ ।

बोर्डले पुँजी बजार सुधारलाई बजारको ‘रेडिनेस’लाई ध्यानमा राखेर अघि बढाउने नीति लिएको छ । बजारका सहभागी र सरोकारवालालाई समेत सुधार प्रक्रियामा संलग्न गराएर नीतिगत परिवर्तन कार्यान्वयन गर्ने बोर्डको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?