एआईआईबीको उपसभापतिमा निर्वाचित भएर स्वदेश फर्किए अर्थमन्त्री वाग्ले

लोकपथ
0
Shares

काठमाडौं । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को वार्षिक बैठकमा सहभागी भएर अर्थमन्त्री डा.स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन् ।

कतारको राजधानी दोहामा आयोजित एआईआईबीको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले असोज १० गते कतार गएका थिए । बैठकमा नेपालको पूर्वाधार विकासका लागि बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच थप सहकार्यका विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ ।

बैठकले अर्थमन्त्री वाग्लेलाई एआईआईबीको गभर्नर परिषद्का तर्फबाट सन् २०२६–२७ का लागि उपसभापतिमा निर्वाचित गरेको छ । क्षेत्रीय सदस्य राष्ट्रमध्येबाट नेपाललाई पहिलोपटक एआईआईबीको उपसभापतिमा निर्वाचित गरिएको हो ।

दोहामा आयोजित ‘गभर्नर्स बिजनेस राउन्ड टेबल’ कार्यक्रममा अर्थमन्त्री वाग्लेले आवश्यक पुँजीको व्यवस्था गर्दै सडक, विद्युत्, सञ्चार तथा सूचना प्रविधिसहित उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका थिए ।

उनले नेपालजस्ता मुलुकको आवश्यकतासँग मेल खाने गरी एआईआईबीको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउनुपर्नेमा जोड दिए । साथै, स्वदेशी तथा विदेशी निजी पुँजी आकर्षित गर्ने र सम्बन्धित मुलुकको आवश्यकता हेरेर उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने धारणा राखेका थिए ।

बैठकका क्रममा अर्थमन्त्री वाग्लेले एआईआईबीका अध्यक्षसहित कतार, भारत, बङ्गलादेश, आर्मेनिया र जर्जियाका अर्थमन्त्रीसँग द्विपक्षीय हित, आर्थिक सहकार्य, लगानी विस्तार तथा नेपालले भोगेको प्राकृतिक विपत्तिपछिको पुनर्निर्माणमा सहयोगका विषयमा छलफल गरेका थिए ।

नेपाल पहिलोपटक एआईआईबीको उपसभापतिमा निर्वाचित भएपछि मुलुकका महत्त्वपूर्ण पूर्वाधार आयोजनामा बैंकको लगानी विस्तार, प्रविधि हस्तान्तरण तथा सदस्य राष्ट्रबीच सहकार्यका लागि थप अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?